कमरेड प्रचण्डको पाप पखाल्ने चाहनाबारे

220

–निमकान्त पाण्डे
लगभग २३ वर्षअघि देशमा आमूल रूपान्तरणका नारासहित सशस्त्र युद्धको नेतृत्व गर्दै आजको अवस्थासम्म आइपुगेका कमरेड प्रचण्ड चमत्कार गर्ने व्यक्तिहरूमा आश्चर्यजनक रूपमा प्रकट हुनुभएको छ । पछिल्लोपटक कमरेड प्रचण्डले युद्धकालको पाप पखाल्न एमाले पार्टीसँग एकता गरेको भनेर कतै सार्वजनिक कार्यक्रममा बोलेको कुरा आम जनमानसले झन् ठूलो चमत्कार मान्नुपर्ने अवस्था सृजना भएको छ । युद्धकालमा मारिएका र बेपत्ता पारिएका नागरिकहरूका परिवारहरू आज पनि आप्mना जनहरूको खोजीमा तड्पिरहेका छन् । उनीहरूको घाउमा मलहम लगाउने हैसियत बनाइसकेको अवस्थामा युद्धकालका अपराधबाट पाप पखाल्न एमाले बन्नुपरेको भनेर कमरेड प्रचण्डले भनिरहँदा मारिएका र बेपत्ता पारिएका नागरिकहरूका परिवारका सदस्यहरूमा कत्रो चोट महसुस गरिँदो हो ? सोचनीय विषय हो ।

 

०५२ फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्ध निश्चित राजनीतिक उद्देश्य बोकेर सुरु भएको हो । त्यस युद्धमा कति क्षति भयो ? त्यसको लेखाजोखा गरेर अब साध्य छैन । त्यो युद्धको थालनी गर्दा देशको अवस्था कस्तो थियो ? आज देशको अवस्था कस्तो छ ? समीक्षा गर्ने हो भने हिजोभन्दा आजको अवस्था भयावह देखिन्छ । जनताले चाहेको के हो ? यो कुरा ०५२ सालमा युद्ध प्रारम्भ गर्दा जानकारी भएका कमरेड प्रचण्ड आज किन अनभिज्ञ बनिरहेका छन् ? आम जनमानसले यो प्रश्न उठाउनुपर्ने अवस्था सृजना भएको छ । युद्ध थालनी गर्दा नेकपा (एमाले)को नेतृत्वपंक्तिले तत्कालीन नेकपा (माओवादी)लाई आतंककारी भनेर विश्लेषण गरेको थियो । कमरेड प्रचण्ड आज त्यही पार्टीको नेतृत्वमा पुगिसकेकाले ०५२ सालतिरका एमाले पार्टीमा गरिएका निर्णयहरू माइन्यूटमा लिपिबद्ध पढ्न सकिनेछ ।

 

युद्ध निश्चय पनि रहरको विषय होइन । युद्ध गर्नुपर्ने निश्चित कारणहरू रहेका हुन्छन् । समाजमा विद्यमान अन्याय, अत्याचार, विभेद, महँगी, बेरोजगारी र राष्ट्रघातजस्ता राज्यपक्षबाट हुने गतिविधिले समाजलाई असन्तुष्ट बनाइरहेको हुन्छ । त्यही समाजमा व्याप्त असन्तुष्टिलाई समेटेर परिवर्तनको चाहनासाथ आवाज उठाउँदा राज्यले नसुन्ने र दमन गर्ने मार्ग अवलम्बन गरेपछि युद्ध जनताका निम्ति अन्तिम विकल्प हुन जान्छ । युद्धलाई थप बल प्रयोेग गरेर दमन गर्दा हत्या र हिंसाका श्रृंखला बढाउने काम हुन्छन् भन्ने कुरा नेपालकै सन्दर्भमा अनुभव गरिसकिएको विषय हो । राज्यले बल प्रयोग नगरेर जनताको आवाज सुनिदिने र जनताका मागहरूलाई सम्बोधन गरिदिने हो भने जनताले बल प्रयोगको बाटो अवलम्बन गर्न आवश्यक हुँदैन भन्ने कुरा कमरेड प्रचण्डले नबुझेको अवश्य होइन । त्यसैले राज्यपक्षबाट गरिएको बल प्रयोगको कारणले हुन गएको क्षतिलाई आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धबाट भएको अपराधका रूपमा स्वीकार गरिनु सन्तुलित मानसिकताको अभिव्यक्ति भन्न सकिन्न । निश्चय पनि हिंसा र हत्याको विरोध गरिनुपर्छ । परन्तु हिंसा र हत्याको कारक के हो ? यो विषय गम्भीरतातर्पm ध्यान पु¥याउन आवश्यक हुन्छ । जुन शक्तिले आपूmलाई आतंककारी घोषित गरेको थियो र टाउकाको मूल्य तोक्ने काममा तत्कालीन सत्तासँग साझेदारी गरेको थियो, त्यही शक्तिको छाता ओढेर अहिले आप्mनै विगतलाई अपराध ठान्नु मूर्खताबाहेक अरु केही भन्न सकिन्न । ]

 

देशमा अहिले कम्युनिष्ट पार्टीको नामबाट दुईतिहाइ बहुमतको सरकार निर्माण भएको अवस्था छ । वर्तमान सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्षको हैसियतले सरकारलाई मार्गनिर्देशन गर्न सक्ने हैसियत कमरेड प्रचण्डमा अहिले विद्यमान छ । यो हैसियतलाई प्रयोग गरेर देशमा आमूल रूपान्तरण गर्न नसक्ने अवस्था छैन । राष्ट्र र जनजीविकाका सवालमा सकारात्मक परिणामदायी काम गर्ने हो भने देशमा रोकावट हुने अवस्था छैन । प्रतिपक्षीको भूमिका रहेको नेपाली कांग्रेस कमजोर अवस्थामा रहेको भए पनि राष्ट्र र जनजीविकाको सवालमा हुने सकारात्मक कामहरूको विरोधमा आवाज उठाउन उसलाई पनि सजिलो हुने छैन । नेपाली कांग्रेसले विरोध गर्ने भनेको साम्यवादतर्पmको गन्तव्य र राजनीतिक स्वतन्त्रता र मौलिक हकजस्ता विषयहरूमा लगाइने प्रतिबन्धमा मात्र हो । जनजीविका र राष्ट्रियताको सवालमा वर्तमान सरकारले काम गर्न चाहने हो भने कतैबाट अवरोधको अवस्था छैन ।

 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुँदादेखिका प्रतिबद्धताहरूलाई मार्गदर्शन बनाएर अगाडि बढ्ने क्रममा नेपाली समाजमा विद्यमान असमान आर्थिक हैसियतको सामाजिक संरचनालाई सबैभन्दा पहिले सुधार गर्नु जरुरी छ । समाजमा विद्यमान विभेदको अन्त्य गर्न सबैभन्दा पहिले आर्थिक विभेदको अन्त्य आवश्यक हुन्छ । आर्थिक विभेदको अन्त्यका लागि गाँस, बास, कपास र रोजगारीको अवसरसँगै शिक्षा र स्वास्थ्यको अवसर महत्वपूर्ण हुन्छ । हाम्रो नेपाली समाजमा प्रत्येक जातभित्र विभेद विद्यमान छ । प्रत्येक जातभित्र धनीले गरिबको शोषण गरिरहेको छ । जातीय मुक्तिको नाममा गर्न खोजिएको राजनीति प्रमुख प्रतिपक्षीबाट पनि स्वीकार्य नभएकाले त्यसलाई सकारात्मक मान्न पनि सक्नुपर्दछ । आपूmले गरेका गलत कामहरूको पनि समर्थन खोज्नु राजनीतिक नैतिकता मान्न सकिंदैन ।

 

नेपाल कम्युनिष्ट पार्टीको नाममा दुईतिहाइ बहुमतको सरकार रहेको वर्तमान अवस्थामा देशमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । कृषिमा आधुनिकीकरण, भूमिमा जोताहाहरूको स्वामित्व, दैनिक उपभोग्य वस्तुहरूको उत्पादन र निर्यातजन्य वस्तुहरूको उत्पादनमा विशेष जोड, उद्योगहरूको स्थापना, देशभित्र रहेको अपार जलशक्तिको समुचित उपयोग र आत्मनिर्भरताका लागि देशभित्र विद्यमान उत्खनन्जन्य वस्तुहरूको उत्खननतर्पm विशेष जोडलगायतका कामहरूलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने युद्धकालका घटनाहरूलाई अपराधको रूपमा चित्रण गरेर मानसिक रूपमा अपराधी बन्नुपर्ने अवस्था रहने छैन । युद्धमा गल्ती भएका हुन सक्दछन् । ती गल्तीलाई सच्याउन प्रतिबद्धता कार्यान्वयन महत्वपूर्ण पक्ष हो । प्रतिबद्धतालाई अस्तव्यस्त छोडेर राजतन्त्रकालीन शासकहरूकै वर्गचरित्र अवलम्बन गर्ने हो भने युद्धकालमा पु¥याइएको क्षतिभन्दा ठूलो र गम्भीर प्रकृतिको अपराध ठहर्नेछ । आगे कमरेड प्रचण्डजीलाई चेतना भया !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here