क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक जारी

135

काठमाडौं / नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित क्रान्तिको नयाँ रणनीति निर्माणमा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकमा जुटेको हो । केन्द्रीय समितिको बैठकको तयारीका लागि पार्टीको स्थायी समिति र पोलिटव्यूरोको बैठक यसअघि नै सम्पन्न भइसकेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले अब वर्गसंघर्ष तथा प्रतिरोध संघर्षलाई जोड दिने एक नेताले जनाएका छन् ।

 

०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको क्रान्तिकारी माओवादीले निर्वाचन सम्पन्न भएपछि निर्वाचन उपयोगको नीति मूलतः सही रहेको निष्कर्ष निकाल्दै ०७४ पौषमा सम्पन्न केन्द्रीय समितिको बैठकले संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

‘संगठन, संगठन र फेरि पनि संगठन’ भन्दै संगठनको आवश्यकतामाथि विशेष जोड दिंदै पार्टी, संयुक्त मोर्चा र जबस तथा जातीय मोर्चाका संगठनहरूलाई सुदृढ गर्ने र विस्तार गर्ने योजनामा क्रान्तिकारी माओवादीले सिंगो पार्टी पंक्तिलाई परिचालन गरेको थियो । माघदेखि जेठसम्म सञ्चालन गरेको सांगठानिक अभियानको क्रममा क्रान्तिकारी माओवादीले देशैभर पार्टी, देजमो, जनवर्गीय संगठन र जातीय मोर्चाका संगठनका सम्मेलन, भेला, गठन, पुनर्गठन गरी संगठनलाई सुदृढ बनाएको छ भने कतिपय ठाउँमा वडातहसम्म संगठन विस्तार गरेको जनाएको छ ।

 

यस अवधिमा क्रान्तिकारी माओवादीले संयुक्त मोर्चाको रूपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको व्यानरमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूका विषयमा सडकमै उत्रिएर विरोध प्रदर्शनका कार्यक्रमहरू प्रस्तुत गरेको छ । मोदीको नेपाल भ्रमणको बेला मोर्चाले अरुण तेस्रोको शिलान्यासलगायत सम्पूर्ण राष्ट्रघाती सन्धि सम्झौताको खारेजीको माग गर्दै शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शनको क्रममा मोर्चा अध्यक्ष सीपी गजुरेलसहित देशभरबाट ५४ जना नेता कार्यकर्तालाई ओली सरकारले गिरफ्तार गरेको थियो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here