सरकारविरुद्ध कांग्रेस आक्रामक बन्दै

136

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वाम सरकारप्रति कडा रूपमा प्रस्तुत हुने संकेत देखाएका छ । व्यवस्थापिका–संसद्मा कांग्रेस नेता दिलेन्द्र बडुले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा लिपुलेक प्रसंग किन नउठाइएको भनेर कडा प्रश्न गरेका थिए । भारतपरस्त भनेर आरोप लाग्दै आएका नेपाली कांग्रेस भारतकै कारणबाट चीनसमेतको सहभागितामा नेपालले गुमाइरहेको नेपाली भूमि लिपुलेक क्षेत्रबारे चासो राख्ने अवस्थामा उत्रिएपछि वाम सरकारको राष्ट्रवादलाई चुनौती थपिएको छ । त्यसैगरी वाम सरकारका मन्त्रीहरूले दिइरहेका अभिव्यक्तिहरू र गरिरहेका कामहरूबारे टिप्पणी गर्दै अर्का कांग्रेस नेता डा.मिनेन्द्र रिजालले अर्काे चुनौती थपिदिएका छन् ।

 

रिजालले वर्तमान सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरूलाई कारबाही गर्दै हिँड्छु भन्नुभएकोबारे आपत्ति जनाएका छन् । अदालतबाट आएको फैसला चित्त बुझेन भनेर न्यायाधीशलाई तर्साउनु ठीक नभएको रिजालको तर्क छ । एउटा फैसलाको आधारमा न्यायाधीशलाई कारबाही गर्न पाइदैन । न्यायाधीशलाई अनुशासनको कारबाही गर्ने निकाय न्यायपरिषद हो । कानुनमन्त्री आफैँ न्याय परिषदको सदस्य हुनुहुन्छ । कुनै न्यायाधीशमाथि आवश्यकतअनुसार अनुसन्धान गर्न सक्नुहुन्छ । तर सार्वजनिक रूपमा धम्क्याउन पाइन्न रिजालले चेतावनीयुक्त शैलीमा भन्नुभएको छ ।
त्यसैगरी पूर्वसंचारमन्त्रीसमेत रहेका रिजालले वर्तमान सञ्चारमन्त्रीको कार्यशैलीको विरोध गर्दै पत्रकारको योग्यता मन्त्रीले हैन पाठकले निर्धारण गर्ने हो भन्दै अब मन्त्रीले पत्रकारको जाँच लिन्छु, प्रेस काउन्सिलबाट भन्नु बेठीक भएको तर्क राख्नुभएको छ । जाँच लिएर पत्रकार हुने वा नहुने भन्ने हुँदैन । सरकारी तलब खाने ठाउँबाट जाँच लिएर पत्रकार बन्ने कुरा स्वीकार्य हुँदैन । के अब सरकारले छानेर पत्रकार बनाउने ? पत्रकारलाई चौथो अंगको रूपमा मानिएको छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा व्याख्या गरेको छ । तर प्रेसमाथि आक्रमण सुरु गरिएको छ – नेता रिजालले भन्नुभएको छ ।

 

त्यस्तै पूर्वमन्त्री रिजालले गृहमन्त्रीको कार्यशैलीको पनि विरोध गर्नुभएको छ । नियम कानुन छ । कुनै पनि व्यक्तिले गल्ती ग¥यो भने कानुनअनुसार कारबाही गर्ने हो । गृहमन्त्री रामबहादुर थापाले जसलाई मन लाग्यो उसलाई समात्छु भन्दै हिँड्नुुहुन्छ भन्दै त्यसको विरोध गरेका छन् । बाटोमा भेटेको मान्छेलाई सम्पत्ति विवरण बुझा भन्ने ? भन्दै रिजालले कानुनीराज्यभन्दा बाहिर कुनै पनि मन्त्री हिँड्न नहुने सुझाव दिएका छन् । अर्थमन्त्रालयमा आस्थाका आधारमा कर्मचारी सरुवा भइरहेको भन्दै मन्त्रीहरूका यस्ता गलत प्रवृत्तिलाई प्रधानमन्त्रीले रोक्नुपर्ने सुझाव नेता रिजालले दिएका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here