चन्द्रागिरीमा पत्रकार र पर्यटन व्यवसायीबीच छलफल

219

नेपालमा कसरी पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ भन्ने बारेमा पर्यटकीय क्षेत्र चन्द्रागिरीमा व्यापक छलफल भएको छ । सञ्चारकर्मीहरु र पर्यटन व्यवसायीहरु बीच भएको छलफल कार्यक्रममा ३ नं प्रदेशका मन्त्री केशव स्थापित र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको पनि उपस्थिति रहेको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाको आयोजनामा चन्द्रागिरी हिल्सको हलमा गत असार २८ गते सो छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व फोनिज अध्यक्ष राज्यलक्ष्मी शाक्यले गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटन वोर्डका प्रतिनिधि सुनिल शर्मा, पर्यटनविद योगेन्द्र शाक्य भने अन्तरक्रियामा सहभागी थिए, प्रेस काउन्सिलकी प्रतिनिधि शुभेच्छा विन्दु, चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक शाह, फोनिज अध्यक्ष राज्यलक्ष्मी तथा पत्रकारहरुमा देवप्रकाश त्रिपाठी, निमकान्त पाण्डे, राजन कार्की, पुष्प प्रधान र अन्य धेरै पत्रकारहरु उपस्थित थिए ।
कार्यक्रममा मन्त्री स्थापितले आफ्नो धरणा राख्दै पर्यटनका लागि बोलबम पर्यटकले नेपालको विकास हुन्न, ट्रेड टुरिजमको सोचमा अघि बढ्नुपर्छ भन्दै उनले पर्यटन विकासको परम्परागत सोचमा सर्जरी गरेमात्र पर्यटन उद्योग वास्तवमा नेपालको प्रगति र समुन्नतिमा फलदायी हुने जनाए ।

प्रदेश मन्त्री स्थापितले सरकारमा बस्नेले झण्डा नबिसाएसम्म पर्यटन विकास नहुने भन्दै बनेपामा ९ हजार रोपनीको डाँडो छ, त्यसलाई इलेफेन्ट पार्कका रुपमा विकास गर्नसके पर्यटन केन्द्र बन्नसक्छ भन्ने विचार अघि सारे । मन्त्री स्थापितले अनुशासन छैन भन्दै कहिले राजनीतिक क्रान्ति भन्यौं, अहिले आर्थिक क्रान्ति भनिरहेका छौं । उनले अनुशासनबिनाको क्रान्तिले विकास सम्भव छैन । क्रान्तिवीचको फरक विकास हो, यसका लागि अनुशासन ल्याउनुपर्ने जनाए ।

चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकालाई पर्यटन केन्द्र बनाउनका लागि हरेक प्रयत्न गर्ने साथै त्यसका लागि छलफल र योजना तयार भइरहेको समेत जनाए ।

पर्यटनविद योगेन्द्र शाक्यले भिजिट नेपाल वर्ष २०११ मा ८ लाख ल्याउन सफलता हासिल गरेको र सन २०२० सम्ममा २० लाख पर्यटन भित्र्याइने दावी गर्दै अब पर्यटन वर्ष असफल भयो भने त्यो असफलता बैंकको लगानी, देशको अपेक्षा र पर्यटन उद्यमीको नैराश्यता सावित हुने तर्क गरेका थिए ।

किन भुटानमा एउटा पर्यटक लामो समय बसेर दैनिक ५ सय डलर खर्च गर्छ , नेपालमा दैनिक ७० डलर खर्च गर्ने र त्यो पनि तत्काल फर्किने खालका पर्यटक आउँछन् भन्ने लगायतका पत्रकारहरुको विभिन्न प्रश्न र सुझावलाई मनन गर्दै पर्यटनविद योगेन्द्र शाक्यले क्वालिटी र क्वान्टिटी दुबैलाई ध्यान दिइने र सन २०२० मा २० लाख पर्यटक भित्र्याएर नेपाललाई पर्यटन हवका रुपमा विकास गर्ने जनाए ।

नेपाल पर्यटन वोर्डका प्रतिनिधिले पर्यटन विकासका लागि सबै पत्रकार मैत्री बन्नुपर्ने र सबैले आआफ्ना सामाजिक सञ्जालमा सक्दो योगदान पुर्याउन अपिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here