काठमाडौं/ ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्युनीकरण गर्न कडा नियम लागू गरिरहेको छ । जथाभावी हर्न बजाउनेलाई नियन्त्रण गर्न दुई दिनमै सफल भएको ट्राफिक प्रहरीले लेन उल्लंघनलाई भने अनुशासनमा राख्न सकेको छैन । अब सडकमा हिंड्ने पैदल यात्रीलाई पनि ट्राफिक प्रहरीले कारबाही प्रारम्भ गरेको छ ।
आकासे पुल चढ्न झन्झट मानेर पुलमुनिबाट बाटो काट्नेहरुलाई समेत प्रहरील ठाउँको ठाउँ समातेर आधा घण्टादेखि २ घण्टासम्मको प्रशिक्षण दिन थालेको छ । गत आइतबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक पार गर्ने तथा आकासे पुल प्रयोग नगर्ने पैदल यात्रुलाई लक्षित गरी सचेतना अभियान सुरु गरेको छ । अभियानमा हालसम्म बीसौं हजार बटुवाहरुलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले प्रशिक्षण दिएर पठाएको छ ।
उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै ट्राफिक महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

















