नारायणगढबाट मुग्लिन अब ३५ मिनेटमा

89

३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ‘पहिलोको काम पनि करिब सम्पन्न भएको छ, चाँडै उसले पनि प्रमाणपत्र पाउनेछ ।’

विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो । ‘भूकम्प तथा आपूर्ति अवरोधजस्ता समस्या नआएको भए परियोजना निर्धारित समयमै सम्पन्न हुने थियो, अहिले सम्पन्न हुनुलाई पनि हामीले समयमै सकिएको मानेका छौँ,’ मुग्लिन–नारायणगढ सडक अनुगमनमा पुगेका विश्वबैंकका नेपाली देशीय प्रबन्धक फेरिस हदाद–जर्वोसले भने । नयाँ पत्रिकाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here