भूटानी शरणार्थीलाई खानेपानीको समस्या

305

झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो ।

तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ ।

दुम्से खानेपानी योजनाअन्तर्गत भूटानी शरणार्थीलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताउनुहुन्छ । त्यसअन्तर्गत हाल ५०० धारा जडान भइसकेको हो । हरेक वर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पु¥याउने गरेपछि दमक–३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य हुनुपरेको अध्यक्ष भण्डारी बताउनुहुन्छ ।

दुम्से खानेपानीमा गत असारको अविरल वर्षा र बाढीका कारण तीनमध्ये दुई वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्यांकीमा जम्मा हुने पानी हाल चार लिटरमा झरेको छ । ट्यांकीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।

दमक–३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफ्नो दैनिक गर्जो टार्ने गरेको बताउनु हुन्छ । राईको घर नजिकै पानीको धारापानी छ । तर पानी आउँदैन । जसका कारण अनेकौँ जोखिम मोलेरै भए पनि खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य हुनपरेको राईको गुनासो छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here