‘राष्ट्र खतरामा छ’ भन्ने असंगत पक्षहरूको साझा क्रन्दनको निहितार्थ के होला ?

224
चन्द्रप्रकाश बानियाँ
‘तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनु पर्छ ।’
नेकपा सम्बद्ध मजदुर युनियनहरूद्वारा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्रीबाट आएको पछिल्लो अभिव्यक्ति हो यो । उनको यो अभिव्यक्तिले देशमा गम्भीर खतरा उपस्थित भएको संकेत गर्दछ । अर्थात ढिलोचाँडो देशमाथि कतैबाट भौतिक हमला हुने आशंका सार्वजनिक गर्दछ र सम्भावित हमलाको प्रतिरोधमा तयार रहन देशवासीलाई आह्वान गर्दछ । हुन त जब राजनीतिज्ञहरूसँग जनतालाई आकर्षित गर्ने कुनै प्रभावकारी विषय बाँकी रहदैन तब उनीहरूले ‘राष्ट्रवाद’ को अखण्ड राग अलाप्न थाल्छन् भनिन्छ । पछिल्लो नाकाबन्दीलाई आफ्नो पूर्व पाककर्म पखाल्ने साधनको रूपमा उपयोग गरेर इतिहासमै पहिलोचोटि सत्तारुढ हुने अवसर नेपालका कम्युनिष्टहरूले प्राप्त गरेका छन् भन्नु बढ्ता हुँदैन । त्यतिखेर प्रदर्शन गरिएको अडान एउटा छद्म प्रहसन थियो भन्ने कुरा पनि पछिल्लो कालखण्डमा विस्तारै प्रमाणित हुँदै आइरहेका छ । त्यसलाई पटक–पटक कोट्याउनुको कुनै अर्थ र औचित्य छैन । जहाँसम्म देश बचाउने आह्वानको कुरा हो त्यो पनि नितान्त वाहियात र व्यर्थ रोदन हो । किनकि देशको स्वतन्त्र अस्तित्वमा तत्काल कतैबाट गम्भीर खतरा उपस्थित भैहालेको छैन । हो कुनै छिमेकीबाट बेला मौकामा नेपाललाई आफ्नो मुठीको माखो प्रमाणित गर्ने कोसिस नभएको भने होइन, तर त्यस्तो चेष्टा देशको भौतिक अस्तित्व समाप्त पार्ने कोणबाट भएको हो भन्नु अतिरञ्जना मात्र हो । राष्ट्रवादको त्यस्तो संकथन राजा महेन्द्रकै कार्यकालमा असंगत सावित भैसकेको थियो । विपी कोइरालाहरूको विरोध रहँदारहँदै पनि नेपालले राष्ट्रसंघको सदस्यता लिएपछि देश कोल्याप्स हुने सम्भावना सदाकालका लागि उतिबेलै टरेको हो ।
जब देशलाई कतैबाट कुनै खतराको संकेतसम्म छैन भने जिम्मेवार तहबाट त्यस्तो वाहीयात हल्ला फैलाउने प्रयत्न किन गरिन्छ त ? नभएको शत्रु खडा गरेर नेपालीहरूको भावनात्मक शोषण गर्ने प्रयत्नको कारण के हो त ? साँच्ौ मुलुकको अस्मितामाथि संकट आइलागेको हो भने तीनकोटि नेपालीहरू रणमैदानमा उत्रन तयार छन्, हुनैपर्छ । साँच्चै त्यस्तो संकेत प्राप्त भएकै हो भने जनतालाई स्पष्ट शब्दमा जानकारी गराउनुपर्छ । गोलमटोल कुरा गरेर भ्रमित र त्रसित बनाउनु हुँदैन । जनतालाई सधैं अन्धकारमा राख्ने र अँध्यारोमै ढुंगा हानेर समाजमा मनोवैज्ञानिक त्रास उत्पन्न गरिनु हुँदैन । त्यो सरारा अपराध हो ।
यतिखेर तीनवटा कोणबाट आश्चर्यजनक रूपमा एउटै स्वर मुखरित हुन थालेको देखिन्छ । अर्थात देशको अस्तित्वमा खतरा उत्पन्न भएको भ्रमपूर्ण हल्ला फैलाउने प्रयत्न भएको देखिन्छ । राजावादी कित्ताले राजसंस्थाको पुनर्वहालीको मागको अभियान चलाइरहेको छ र राजसंस्थाको अभावमा देशको अस्मितामाथि संकट आइलागको अरण्यरोदन गर्न थालेकोे छ । वास्तवमा त्यस्तो क्रन्दन राजसंस्थाको छत्रछाँयामा आफ्नो रोटी सेक्ने स्वार्थबाट अभिप्रेरित अभियान हो । राजसंस्था देशको रक्षक होइन भक्षक पनि बन्न सक्छ र निजी स्वार्थमा धक्का लाग्ने स्थिति देख्नासाथ देशको स्वतन्त्र अस्तित्वमाथि खेलबाड गर्न किञ्चित मान्दैन भन्ने कुराको ज्युँदो उदाहरण कास्मिरको विलयप्रकरण हो । राजा हरिसिंह देवले बहुसंख्यक मुस्लिम आवादी भएको स्वतन्त्र राज्य कास्मिरलाई नितान्त निजी स्वार्थबस भारतमा विलय गराएका हुन् । जनता पाकिस्तानमा सामेल हुन चाहन्थे । हरिसिंहले न राज्यको स्वतन्त्र अस्तित्व जोगाउने कोसिस गरे न जनमतको सम्मान नै गरे । सिक्कमको राजवंशले देशको अस्तित्व जोगाउन सकेन । जोगाउने चेष्टा गर्दै गरेन । तिब्बतको लामा शासन पद्धति पनि एक खालको धार्मिक राजतन्त्र नै थियो । फरक कति मात्रै हो भने दलाई लामातन्त्र वंशानुगत हुदैनथ्यो तर लामाहरूको मण्डलीले दलाई लामाको चयन गथ्र्यो । दलाई लामाले राजकीय अधिकार उपभोग गर्दथ्यो । हाम्रो आँखाको अगाडि तीन तीनवटा राजसंस्थाहरूको कालो इतिहास साक्षी छ । देशको अस्तित्वरक्षाको सन्दर्भमा बलियो भूमिका निर्वाह गर्न नसकेको राजसंस्थाहरूको इतिहासका पानाहरू आँखै अगाडि खुला हुँदा हुदै नेपालमा मात्रै राजसंस्थाविना देशको अस्तित्व बच्दैन भन्ने हल्ला चलाउनुको उद्देश्यमा खोट छैन भनेर कसरी भन्न सकिन्छ र ?
मुलुकलाई पुन हिन्दूधर्मसापेक्ष घोषणा गराउने अभियन्ताहरूको दोस्रो कित्ताले पनि देशको अस्तित्व संकटमा परेको हल्ला चलाउने गरेको छ । धर्मलाई जीवनमरणको सवाल ठान्ने त्यो समुदायले विभिन्न नाम, रूप र आकारप्रकारका संघसंगठनहरू बनाएर संगठित उद्योग सञ्चालन गर्न थालेका छन् । हिन्दूधर्म के हो ? कसले स्थापना गरेको हो ? त्यसको उद्देश्य के थियो भन्ने कुराको इतिहासको पटक्कै जानकारी नराख्ने अनि ‘मामाको घोडी, मेरो हि हि’ भन्नमै रमाउने जमात कताबाट सञ्चालित छ भन्ने कुरामा नै शंका गर्नुपर्ने परिस्थिति छ । अनेक छद्म नाममा भारतमा वदनाम धार्मिक–राजनीतिक संगठन आरएसएसका नयाँ संस्करणहरू नेपालमा खुल्न थालेका छन् । तिनीहरूको एकसूत्रीय आलाप ‘देश संकटमा छ’ भन्ने रहेको देखिन्छ । नेपाललाई खतरा छ भने कताबाट छ भन्ने कुरा दिनको घामजत्तिकै छल्र्लङ्ग रहेको विषय हो । तिनले वास्तवमा कस्को चाकडी गर्छन् र कोबाट सञ्चालित छन् भन्ने कुराले नै उनीहरूको नक्कली चिन्ताको पर्दाफास गरिदिन्छ ।
तेस्रो र शसक्त कित्ता नवराष्ट्रवादीहरूको हो । नवराष्ट्रवादको स्वघोषित नेतृत्व वर्तमान सत्ता अर्थात नेकपा (नेकपा) ले गर्न थालेको छ । हिजो नाकावन्दीको बेलामा त्यो कित्ताले लिएको अडान आंशिक रूपमा ठीकै थियो । त्यसले कमसेकम भारतीय शासकवर्गको हैकमलाई ठेगान लगाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै हो । अब परिस्थिति फेरिएको छ । भारतीय सत्ता आफै आफ्नो दुष्कर्मको रापले पग्लेर ‘पानी पानी’ हुनुपर्ने अवस्थामा पुगेको छ । फेरि तत्कालीन नाकावन्दीमा देशै कब्जागर्ने मनशाय थियो भन्न मिल्दैन । त्यो त नेपाललाई आफ्नो इशारामा उठबस गराउने दूराशय मात्रै थियो । उसको अभियानले प्राप्त गरेको असफलताले दक्षिणलाई नराम्रोसँग थचारेको छ । नेपालको अस्मिता निल्ने कुरा त परै रहोस् आगामी कैयौ दशकसम्म नाकावन्दीको ‘न’ उच्चारण गर्न नसक्ने गरी गलेको छ । नराम्रोसँग तर्सेको छ र चेतावनी पाएको छ ।
त्यसो हो भने देशलाई कताबाट खतरा छ त ? कतैबाट छैन । व्यर्थको हौवा मात्र हो । सरकार, राजावादी र धर्मालम्बीहरू तीनैथरिको एउटै स्वर एकैसाथ सार्वजनिक हुनु आश्चर्य मान्नुपर्ने विषय भने हो । यो नितान्त संयोग मात्र हो कि कतै साँठगाँठ पनि छ भनेर प्रश्न गर्नुपर्ने शंका गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तीनैथरिको एउटै आवाज ती सबैलेको हात लागेकोे असफलताको रोदन मात्रै हो त ? राज्य सञ्चालनमा देखिएको अकुशलताले जनतामा निराशा उत्पन्न गरेको छ । सरकारप्रतिको वितृष्णा विद्रोहमा बदलिने हो किन भन्ने त्रासका कारणले जनताको ध्यान अन्यत्र मोड्न सरकारले राष्ट्रिय सङकटको फर्जी हल्ला चलाएको होला भनेर अनुमान गर्न गाह्रो पर्दैन तर जनताको ध्यान अन्यत्र मोड्नैको लागि राष्ट्रवादको कोकोहोला मच्चाउनै पर्छ भन्ने के छ र ? पाँचै महिनाको छोटो अवधिमा हात लागेको अलोकप्रियता ढाकछोप गर्नका लागि नक्कली चिलको तर्सो देखार कुखुरा चोर्ने छट्टुस्यालको चलाकीको अनुकरण मात्र हो भने ठिकै होला । नक्कली कुराको आयु लामो हुदैन । होइन त्यसको अर्को पाटो छ । सतहमा देखिएको चेष्टाको सगोल सङकेत एउटै हो भने लक्षण राम्रो हो भन्न सकिदैन । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here