डा.दीपेन्द्र रोकाया
नेपालमा जे कुराको पनि छिटो हात झार्ने चलन त बसेकै छ । तर गहिरो गरी समीक्षा भने गरिदैन यो प्रवृति चाँहि समस्याको विषय हो । यसकारण समाजमा जे कुरा पनि नकारात्मक धारणाबाट विषय प्रवेश गर्ने आधार बनेको पाइन्छ । यसको परिणाम नकारात्मक नै देखा पर्दछ । यसको उदाहरण कयौ उल्लेख गर्न सकिन्छ । यद्यपि मैले माथि उल्लेख गरेँझै गहिरो गरी समीक्षा नगरिनाले सतहमा आएका तर्क विर्तकले खासै अर्थ राखेको पाइँदैन ।
लोकतन्त्र पुनस्र्थापना भएको यतिका वर्ष बिति सक्यो, तर जनताले चाहेको भन्दा पनि जनताकै ढाड भाँच्ने पद्धति आएको रूपमा व्याख्या हुने अवस्था आउनु दुःखको कुरा हो । विगततिर फर्कर्दै जाँदा बहुदल आएको एक दुई वर्षपछि नै नेपालका राजनीतिज्ञहरू राजनीतिक पीडितका नाममा राज्यको ढुकुटी लुट्दै भ्रष्ट प्रवृति देखाउन थालिसकेका थिए । यहाँको राजनैतिक संरचनामा लोकतन्त्रको अभ्यासका लागि बेला बेलामा निर्वाचन त भयो, तर त्यो निर्वाचन भ्रष्ट पार्टी र नेताहरू मध्ये एकलाई छनोट गर्ने कार्यको निरन्तरता बाहेक केही भएन ।
विगतमा काँग्रेस र एमाले जस्ता पार्टी यही पद्धतिमा पारंगत भएका दलहरू थिए । यसबाट वाक्क दिक्क भएका जनताले माओवादीको एक दशकको उच्च प्रकारको वलिदानी भाव र प्रतिबद्धता देखेर एक नम्बरको पार्टी बन्ने जनमत पनि दिए । तर उ सत्तामा पुगेर दम्भ देखाउन थाल्यो । त्यसको परिणाम के भयो ? भनिरहन पर्दैन, लोकले जान्दछ । ऊ तितरवितर भयो । अहिले आएर माओवादी आन्दोलन कथाको विषयजस्तो बन्न थालेको छ । वास्तवमा २००७ सालको परिवर्तनको संवाहक नेपाली काँग्रेस हो । २०४६ सालको परिवर्तनको संवाहक संयुक्त जनआन्दोलन थियो भने अहिलेको युगीन परिवर्तन २०५२ सालदेखि शुरु भएको १० वर्षे ९ महिना ५ दिन लामो जनयुद्धको जगमा भएको जनआन्दोलन हो । यसलाई आग्रही भएर हेर्ने गर्नु हुँदैन । मुलतः परिवर्तनको संवाहक राजनीतिक विचार नै हो ।
यद्यपि हामीले जुन राजनैतिक पद्धति अँगालेका छौ, त्यो नेपाली माटो सुहाउँदो हो कि होइन भन्ने कुरा एउटा होला । अर्को महत्वपूर्ण कुरा भनेको सामन्ती राजनीतिको दुस्चक्रमा फसेकाले यसको रौचिराई अध्ययन, विश्लेषण नभएका कारण समय समयमा राजनीतिक परिवर्तन हुने तर त्यसको आभास जनतालाई भएको पाइदैन । एकाधलाई वर्ग फेर्नका लागि अवसर मिल्ने काम मात्र भइरहेको देखिनुले यस प्रक्रियाले आममा निराशा उत्पन्न गराई रहेको छ । यसले गर्दा आएका अवसरहरू पनि सदुपयोग हुन नपाई प्राप्त अधिकार गुम्दै जाने गर्दछन् । देश अर्को संकटमा फस्न गई द्धन्द्ध बढ्ने प्रक्रिया शुरु हुन थाल्दछ ।
विभिन्न अनुभवले नेपालको लोकतन्त्रको अभ्यास गर्ने कार्यको शुरुवात निर्वाचनमा सहभागी हुनुबाट हुन्छ । निर्वाचनमा भाग लिने व्यक्ति नेता हुनका लागि व्यापारी, तस्करी, अन्तर्राष्ट्रिय समुदाय, सुरक्षा निकाय र मिडियाको रोजाईका आधारमा तय हुने गर्दछ । यो व्यवहारिक कर्पोरेट दुनियाँमा परिर्वतनका संवाहक वैदेशिक सहयोग परिचालन गर्नेहरू देखा पर्नु यसैको एक अर्को रूप हो । भनिरहन पर्दैन, नेपाल सरकार मन्त्रिपरिषद्को ढोकादेखि सुरक्षा निकाय र न्यायपालिकासम्म उनीहरूले सिफारिस गरेका नीति तथा कार्यक्रमले रामवाण पाएजस्तै उपयोग भईरहेको अवस्था छ । यसले केही ठाउँमा सहयोग मिलेको छ भने सही तौर तरिका अपनाउन नजान्दा धेरै ठाउँमा प्रत्युपादक सावित भएको अवस्था छ ।
यसैले अहिलेका सात प्रदेश र ‘प्रायः स्थानीय तहका काम कारवाही हेर्दा जनताले आलोचना गरेको देखियो । काठमाडौको सिहदरवार गाउँ गाउँसम्म त पुगेको छ । तर त्यो सिहदरवारमा भ्रष्ट प्रवृत्ति लिइ असारे विकास गर्ने तौर तरिकाका साथ त्यहाँ पनि पुगेको पाइयो । गत असारमा हरेक गाउँपालिकाका आसेपासेहरूले सकेसम्म बजेट कागजमा विकास गरेर उपयोग गरेको पाइयो । यस्ता वैधानिक भ्रष्टाचारलाई मान्यता दिनेहरू देशका धमिराहरू हुन् । यसमा निर्वाचनमा हारेकाहरूको कुरा छोडौ, उनीहरूलाई आफ्नो खर्चको तनाव त छ होला नै । तर जितेकाहरू खुलमखुला भन्दछन् कि मैले निर्वाचनमा यति खर्च गरेँ । त्यो खर्च उठाउन लाग्ने तर्फ उद्धत हुँदै भ्रष्ट चेहरालाई सामाजिकीकरण गराईरहेको पाइन्छ ।
मुलुक कतातिर लाने भन्ने कुरा राजनीतिज्ञको हात प्रमुख रूपमा रहन्छ । राजनीतिक पार्टीहरू कस्का गोटी बनेर प्रस्तुत भइरहेका छन् वा हुने रहेछन् भन्ने कुरा माथि नै उल्लेख गरिसकेँ । यसो त हामी १९ औ शताब्दीका पुराना सैद्धान्तिक मार्ग अपनाई अघि बढ्दा निकै ठुल ठुला सामाजिक दुर्घटनाहरू भोग्न परिरहेको छ । यसो भएकाले पश्चिमा देशमा फलिफाप भएको लोकतन्त्र नेपाली जनताका लागि फापेको देखिदैन । समय परिवेशले केही सुगमता थपिए पनि सामन्ती कुसस्कारले गर्दा नेपालको लोकतन्त्र बाँदरको हातमा नरिवल सावित भइरहेको अनुभव हुन थालेको छ । किनकि चुनावी एजेण्डा एक, सत्तामा पुगेपछि अर्को गर्दै जनता भनेका कर तिर्न मात्र जन्मेका हुन् जस्तो गरिएका व्यवहार त्यसका प्रमाण हुन् ।
नेपालमा प्रष्ट बहुमत भएको कम्युनिष्ट सरकार छ तर यसले अझै माथिका कु प्रथाहरू हटाउन सकेको छैन । देशको भ्रष्टतन्त्रलाई थला पार्न सकेको छैन । बरु आफु थला पर्ने हो कि भन्ने हिसावको चर्चा सुनिन थाल्नु शुभ संकेत हुन सक्तैन । यो मान्यता परिवर्तन गर्ने गरी नेपालमा कम्युनिष्टहरूलाई मौका आएको छ । यसैले प्रधानमन्त्रीको सपनालाई जो जसले उडन्ते भनेपनि त्यसलाई साकार पार्न हाम्रो मात्र नभई देशको राम्रो टिम चाहिन्छ । ती गर्नै नसकिने विषयहरू होइनन् । अर्को कुरा नेपाली राजनीतिको किङ मेकर पूर्व प्रधानमन्त्री प्रचण्डले भन्दै आउनु भएको क्रमभंगता देखाउन सके मात्र नेपाली जनमानसमा नकारात्मक प्रतिक बनेको राजनीतिलाई सकारात्मक कोणबाट हेर्ने आधार बन्न सक्छ ।
जनधारणा साप्ताहिक
















