काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यक पर्छ त्यसरी नै मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ। हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं। हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ। हामीमध्ये केहीले आठ घन्टाजति सुत्नुपर्छ भन्ने धारणा बनाएका हुन्छौं।
दैनिक ७ देखि ८ घन्टा राम्रोसँग सुतिएन भने आयु घट्दै जान्छ वा कुनै शारीरिक अथवा मानसिक रोगले समात्छ । यसकारण कम्तीमा पनि दैनिक ७ घन्टा निदाउनु आवश्यक छ । अर्को कुरा जसरी कम सुत्नु हानिकारक छ त्यसरी नै आवश्यकताभन्दा बढी सुत्नु पनि हानिकारक नै हुन्छ । राम्रो निद्रा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक छ ।
सुत्नुपर्ने समय यत्ति नै हो भनेर किटान गर्न गाह्रो छ। उमेरअनुसार सुत्नुपर्ने समयलाई निश्चित गर्न सकिँदैन। उमेर समूह अनुसार सुत्नुपर्ने समयलाई अनुमान गर्न मात्रै सक्छौं हामी।
सुत्नुपर्ने समय :
भर्खर जन्म लिएका (०-३ महिना) : दैनिक १४ देखि १७ घन्टा
शिशु (४-११ महिना) : दैनिक १२ देखि १५ घन्टा
बच्चा (१-२ वर्ष) : दैनिक ११ देखि १४ घन्टा
भर्खर स्कुल जान थालेका (३-५ वर्ष) : दैनिक १० देखि १३ घन्टा
स्कुले विद्यार्थी (६-१३ वर्ष) : ९ देखि ११ घन्टा
किशोरकिशोरी (१४-१७ वर्ष) : दैनिक ८ देखि १० घन्टा
वयस्क हुँदै गएका (१८ देखि २५ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
वयस्क (२६-६४ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
बूढा (६५ वर्षभन्दा माथिका) : दैनिक ७ देखि ८ घन्टा
निद्रालाई प्राथमिकतामा राख्नुहोसस्वस्थ जीवन जिउन चाहनुहुन्छ भने आफ्नो आवश्यकतालाई ख्याल राख्नुहोस्। सुताइले आफ्नो जीवनमा पारेको प्रभावलाई ख्याल गर्नुहोस्। पर्याप्त सुतेको दिन र निद्रा नपुगेको दिनको ‘मुड’, ऊर्जा र स्वास्थ्य कस्तो भयो भन्ने कुरालाई ख्याल गर्नुहोस्।
सन्तुलित निद्रा पुर्याउन निम्न कुरामा ध्यान दिनुहोस् स्
– सुत्ने समय ख्याल गर्नुहोस्। योजना बनाउनुहोस्।
– ओछ्यानमा कुनै तनाव नलिनुहोस्।
– अभ्यास गर्नुहोस्।
– कोठाको तापक्रम, आवाज र प्रकाशको विशेष ख्याल गर्नुहोस्।
– ओछ्यानलाई गुणस्तरीय बनाउनुहोस्। तन्ना, सिरानीलाई सुविधायुक्त बनाउनुहोस्।
– सुत्ने समयमा मोबाइल लगायतका ‘इलेक्ट्रोनिक्स’ सामान प्रयोग नगर्नुहोस्।
(नेसनल स्लिप फाउन्डेसन, अमेरिकाबाट साभार)

















