गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् । बिहान ७ बजे नै प्रहरी उनीहरूको डेरामा पुग्यो र ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिट्यो ।
उनीहरूकै बयानका आधारमा बालकको हत्या भएको जानकारी मिल्यो । गोपाल र अजयका घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको भन्ने उनीहरूको बयान पुष्टि भयो । किनकि, प्रहरीले त्यहाँबाट केहीवेरमै शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर भिड जम्मा भएको थियो । आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गयो । ११ बजे दुवै आरोपीलाई गाडीमा राखेर लगिएको थियो । दिउँसो १ बजे खबर आयो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।’
अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् । उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ । नयाँ पत्रिकाबाट ।


















