इरानका राष्ट्रपति हसन रुहानीले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमाथि फेरि आर्थिक प्रतिबन्धहरू लगाएकोमा आक्रोश व्यक्त गरेका छन्।
रातारात कार्यान्वनमा आएको प्रतिबन्धलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै उनले त्यो ‘इरानका जनतामाझ विभाजन ल्याउनेतर्फ लक्षित’ रहेको जनाए ।
अमेरिकी प्रतिबन्धहरू विभिन्न क्षेत्रतर्फ लक्षित छन् र त्यसले इरानको तेल व्यापारलाई थप दण्डित गर्नेछन्।
युरोपेली संघले अमेरिकी कदमविरुद्ध आवाज उठाउँदै ‘वैधानिक कारोबार’ गरिरहेका कम्पनीहरूको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाएको छ।
तारतम्य
रुहानीले अमेरिकी प्रतिबन्धहरूसँग भविष्यमा कुनै पनि पारमाणविक सम्झौताको तारतम्य नमिल्ने जनाएका छन्।
गत मे मा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सन् २०१५ को अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए।
सो निर्णयलाई सघाउन तेहरानविरुद्धका प्रतिबन्धहरू पुनः ब्युँताइने विषयमा ह्वाइट हाउसले थप विवरणहरू सार्वजनिक गरेपछि इरानी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो।
इरानले आफ्ना विवादास्पद पारमाणविक कार्यक्रम सीमित पार्ने प्रतिबद्धता जनाएपछि तेहरानविरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्ने गरी तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा पारमाणविक सम्झौता भएको थियो।
तर ट्रम्पले उक्त सम्झौता ‘एकपक्षीय’ भएको जनाउँदै आएका छन्।बिबिसि

‘


















