पर्यटन व्यवसायी कर्ण शाक्य विवादमा

890

काठमाडौं/ अनुसन्धान समितिले पोखरा फेवाताल छेउमा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जमिन मिचेर निर्माण भएको ठहर गरेको छ । सो रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो । उनले सिमसार क्षेत्रमा बृहत संरचना निर्माण गरेका छन्।  दुई वटा संरचना मात्र आफ्नो जग्गामा बनेको समितिको प्रतिवेदनमा उल्लेख छ।

पर्यटन व्यवसायी शाक्यको सो रिसोर्ट तालको मापदण्ड मिचेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा मुद्दा दायर गरेपछि सर्वोच्च अदालतबाट न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले ताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना गैरकानुनी भएको ठहर गर्दै अनुसन्धान समिति गठन गरेर छानबिन गर्न आदेश दिएको थियो ।

तालको जग्गा अतिक्रमण गरे नगरेकोबारे छानबिन गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय समितिले स्थलगत नापजाँच गरेको थियो। समितिका सदस्यहरु अध्ययनका लागि जेठ २३ गते पोखरा पुगेका थिए।

समितिमा नापी विभागका प्रशान्त घिमिरे, मालपोतका कानुन अधिकृत विष्णु घर्ती, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल केमिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हुमनाथ पाण्डे छन्। प्रदेश सरकारसँग समन्वय गरी प्रतिवेदन तयार गर्न उक्त इजलासले आदेश दिएको थियो।

आदेश अनुसार सरकारले गठन गरेको समितिले करिब १५ दिन लगाएर गरेको अध्ययनमा शाक्यले फेवातालको ६५ मिटरभित्रै स्थायी र अस्थायी संरचना निर्माण गरेको फेला परेको हो।

सर्वोच्चको आदेश बमोजिम समितिले २०३२ सालको नापीको नक्सालाई आधार मानेर तालको किनार पत्ता लगाई जाँच गरेको थियो।

समितिको प्रतिवेदनमा शाक्यले फेवातालको जग्गा मिचेको ठहर भएकाले उनको ८ वटा संरचना भत्काउनु पर्ने देखिएको उल्लेख छ।

सो रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो। व्यवसायी शाक्यले सिमसार क्षेत्रमा बृहत संरचना निर्माण गरेका छन्। साबिकको सराङकोट–५ मा पर्ने संरक्षण क्षेत्रभित्र शाक्यले रिसोर्ट बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here