सितलाले भनेकी थिइन्, बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

96

‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि।’

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन्। सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन्। श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्।

पुरिएको एक घन्टापछि उद्धार गरिएका लालबहादुरले आधा घन्टासम्म गुहार मागिरहेकी श्रीमतीलाई बचाउन नसकेकोमा निकै पछुतो लागेको बताए। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here