काठमाडौं/ पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल
राहदानी ऐनमा पासपोर्ट दुरुपयोग गर्नेलाई पाँच सय जरिवाना वा एक वर्षसम्म जेल सजायको व्यवस्था छ । तर अब राहदानी दुरुपयोग गर्नेलाई दुई देखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने ५१ वर्षपछि सरकारले राहदानीसम्बन्धी नयाँ कानुन बनाउन लागेको छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ ।
झुटा विवरण दिई राहदानी वा लिन प्रयत्न गरेमा, अनुमतिपत्र वा राहदानी नलिई विदेश गएमा वा जाने प्रयत्न गरेमा, सरकारको आदेश वा निर्देशन पालना नगरेमा, उद्देश्यविपरीत राहदानी प्रयोग गरेमा, आफ्नो पासपोर्ट अरूलाई प्रयोग गर्न दिएमा, राहदानीमा भएको फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी मञ्जुरी नलिई बदनियतपूर्वक नियन्त्रणमा राखेमा दण्डसजाय हुनेछ ।
सरकारले ल्याएको विधेयकमा अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनेछ ।
कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई , नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काम, अध्ययन वा भ्रमणलगायतमा जानेलाई विशेष राहदानी, विदेशस्थित नेपाली नियोगमा खटिई जाने राजदूत, स्थायी प्रतिनिधि, विशेष प्रतिनिधि, महावाणिज्यदूतलगायतलाई सर्भिस राहदानी र साधारण राहदानी नेपाली नागरिकलाई जारी गरिने विधेयकमा व्यवस्था गरिएको छ ।


















