शक्तिशाली सरकार बने पनि विकासका कामहरूमा ढिलासुस्ती

68

राज्यलक्ष्मी शाक्य

देशमा शक्तिशाली सरकार निर्माण भएको छ । तर देश विकासको गतिमा अघि बढ्न सकेको छैन । सरकार अन्योलग्रस्त अवस्थामा देखिन्छ । आखिर किन यस्तो भइरहेको छ । नेपाली जनताका निम्ति विकासको अवसर सरकारको स्थिरता हो भन्ने परेको हो । तर, मुलुकमा स्थिर सरकार बनिसकेको अवस्थामा पनि राजनीतिक उतारचढावका संकेतहरू सतहमा देखा परिरहेका छन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक छैन । मुलुकको बृहत्तर सामाजिक तथा आर्थिक विकासका लागि सरकारले राष्ट्रिय प्राथमिकता हेरी राष्ट्रिय गौरवका आयोजनाको सूची तयार पारे पनि ती आयोजनाहरूको काम तथा प्रगति निकै निराशाजनक हुँदै गएको देखिएको छ ।

सरकारले प्राथमिकताका आयोजनाहरूलाई पी १, पी २ गरी वर्गीकरण गरी बजेट विनियोजनलगायतका आवश्यक कामहरू अघि सारे पनि ती आयोजनाको काम निकै सुस्त हुँदा गौरवका आयोजनाहरूको अवस्था लाजमर्दाे देखिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू मात्र नभई अन्य आयोजनाहरूसमेत निर्धारित समयभन्दा निकै ढिला मात्र सम्पन्न हुने र निर्माण भए पनि कमजोर अवस्थामा निर्माण हुने गरेका पाइन्छन् । राजनीतिक संक्रमणकालको चपेटामा आर्थिक क्षेत्र परेको छ भनेर अब चित्त बुझाएर बस्नुपर्ने अवस्था छैन ।

राजनीतिक नेतृत्वबीच सत्तामाथिको हानथापमा केन्द्रित देखिने अवस्था अब छैन । प्रमुख प्रतिपक्षको हैसियत पनि निकै कमजोर अवस्थामा खुम्चिएको छ । त्यसैले वर्तमान सरकारले काम गर्ने अवसर सदुपयोग गर्न पछि पर्नु हुँदैन । सरकारमा रहेका मन्त्रीहरू पनि केवल निर्देशन दिनमा नै आफ्नो समय व्यतित गरिरहेका छन् । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी चीनलाई निर्माण गर्न सहमति गरेका थिए । त्यसलाई उल्टाउने काम भएपछि पश्चिम सेतीको जिम्मेवारी पनि चीनले छोडिदिएको अवस्था छ ।

यस्ता संवेदनशील कुराहरूमा सरकारले छिमेकी राष्ट्रको भावना बुझ्ने काममा कमजोरी प्रदर्शन गरेको देखिन्छ । यस्तो अवस्थाले देशको विकासको गतिमा अवरोध आउने निश्चित हुन्छ । यति मात्र नभई छिमेकी देशहरूबीच प्रतिस्पर्धाको अवस्था विकसित हुने र चेपुवामा नेपालजस्तो सानो देश पर्ने सम्भावनालाई भुल्नु हुँदैन ।

विकासमा भइरहेको ढिलासुस्तीका कारण नेपालको आर्थिक क्षेत्रमा नै असर परेको छ । थुप्रै आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । ती आयोजना तथा कोरिडरहरूको निर्माण कार्यलाई तीव्रता दिनसके तत्तत् क्षेत्रका स्थानीयवासीको जीवनस्तरमा धेरै प्रगति हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

देशभर कूल २१ ओटा गौरवका आयोजनाहरूका लागि सरकारले वार्षिक रूपमा अर्बौं रूपैयाँ बजेट विनियोजन गरे पनि ती आयोजनाको काम सुस्त हुनुका साथै सरकारले आफैंले विनियोजन गरेको बजेट पनि खर्च हुन नसकेको अवस्था छ । ती आयोजनाहरूमा सरकारी, सम्बन्धित पक्ष, ठेकेदारलगायतको ढिलासुस्तीको कारण समयमा नै काम हुन सकेको छैन । यसतर्फ शक्तिशाली सरकार बनेको अवस्थामा सरकारी निकायले तदारुकताका साथ काम देखाउन सक्नुपर्दछ ।
विगत लामो समयदेखि विकासका कामहरू केही पनि हुन सकेका छैनन् । विकासका कामहरू हुन नसक्दा देश आर्थिक रूपमा झनै कमजोर बन्नु स्वाभाविक हो ।

सरकार परिवर्तनका खेलहरूमा मात्र समय लगाउनु पर्दा विकासका कामतर्पm राजनीतिक नेताहरूको ध्यान पुग्न सकेन भनेर अब भन्ने अवस्था छैन । त्यसैले पनि वर्तमान सरकारको एक मात्र एजेण्डा देशको समृद्धि नै हुनुपर्दछ ।
देशलाई समृद्ध तुल्याउन सर्वप्रथम आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक हुन्छ । आत्मनिर्भर अर्थतन्त्रको विकासबिना समृद्धिको परिकल्पना निरर्थक हुन्छ । वर्तमान सरकारसँग प्रशस्त सम्भावनाहरू छन् । अवसरहरू छन् । अवसरहरूलाई सम्बोधन गर्न तर्फ इच्छाशक्तिको आवश्यकता छ ।

सरकारले देशलाई आत्मनिर्भर तुल्याउन प्राकृतिक सम्पदाहरूको उत्खनन् महत्वपूर्ण पक्ष हो । प्राकृतिक सम्पदाको उत्खनन्का निम्ति छिमेकी देशहरूको सहयोगलाई आकर्षित गर्न आवश्यक हुन्छ । छिमेकी देशहरूको सहयोगबिना प्राकृतिक सम्पदाको उत्खनन हाम्रा निम्ति सम्भव हुँदैन । त्यसैले अरु सबै विषयमा नअल्मलिएर प्राकृतिक सम्पदाको उत्खननलाई नै सरकारले प्राथमिकतामा राख्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here