मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।
सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने कुशे औंसी पर्व आज पवित्र कुश घर-घरमा भित्र्याउँदैछन् । कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। बुवालाई विशेष सम्मान गर्ने परम्परा चल्दै आएको छ । आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
बुवाको मुख हेर्ने औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरिन्छ । बाबु नहुनेहरूलार्इ छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ देवघाट, स्वर्गद्धारी, विन्ध्यवासिनी, रुरु क्षेत्र लगायतका तीर्थस्थल जान सक्नेले यसै स्थानमा र नसक्नेले आफूलाई पायक पर्ने देवस्थल, त्रिवेणी, दोभान र पवित्र घाटमा पितृप्रति पिण्डदान गर्ने प्रचलन छ ।

















