उत्तर कोरिया/ उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसर आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।
एक्काइस तोपको सलामी पश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता कीम सहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।
मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक बिमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।
तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन ।
सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए ।


















