श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक ३० हजार पाँच सय

309

काठमाडौँ, २६ भदौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब रु १९ हजार ५०० बाट रु २९ हजार ५०० र सञ्चार खर्च गरी रु ३० हजार ५०० पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए ।

समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख गरिएको पारिश्रमिकको दरलाई केही परिमार्जन गरी पारिश्रमिक पुनरावलोकन गरिएको जानकारी गराए ।

उनले श्रमजीवी पत्रकारको दैनिक जीवनयापनका लागि चाहिने न्यूनतम आधारभूत आवश्यकता, देशको मौद्रिक अवस्थामा आएको उतारचढाव, निजामती सेवा एवं अन्य निजी प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीको पारिश्रमिकको तुलनात्मक अवस्था, सञ्चार प्रतिष्ठानको क्षमता, केही समयअगाडि नेपाल सरकारले विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गरिएको वृद्धि तथा मुलुकको समग्र आर्थिक अवस्थालाई मध्यनजर गरी पारिश्रमिक पुनरावलोकनको निर्णय गरिएको बताए ।

समितिले पुनरावलोकनका लागि गरेको नयाँ पारिश्रमिकअनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः रु २९ हजार ५००, रु २७ हजार ५०० र रु २४ हजार ५०० तथा प्रादेशिकस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः रु २१ हजार ५००, रु २० हजार र १८ हजार निर्धारण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here