नारी नागरिक हुन् वा अरु कुनै छुट्टै परिचय चाहिएला ?

290

 निशा तामाङ
म आफू पनि महिला अर्थात् नारी हुनुको कारण मलाई नागरिक हुँ वा होइन भन्ने प्रश्न कहिलेकाहीँ मनभित्रैबाट उठ्ने गर्छ । फेरि सोच्छु महिला र पुरुष समान नै त हुन् । समान हुन् भन्ने नारा जताततै सुनिन्छ, महिला बिना पुरुषको अस्तित्व छैन भन्ने कुरा पनि समाजमा स्वीकार गरिएको विषय हो । त्यसैले म आफू महिला नागरिक हुँ भन्ने निष्कर्षमा पुग्छु । फेरि आफैमा प्रश्न उठ्छ – नागरिक ? म कसरी नागरिक ?म वास्तवमै नागरिक भए त महिला हकका कुरा किन उठाउनु पथ्र्यो र ? लैङ्गिक विभेदका कुरा समाजमा किन सुन्नु पथ्र्यो र ? महिलाहरू बलात्कृत भएको कुरा किन सुन्नु पथ्र्यो र ? महिला मात्र होइन बालिकाहरू बलात्कृत भएका कुरा किन सुन्नु पथ्र्यो र ? त्यसैले म सामान्य नागरिक भन्दा अलि फरक अस्तित्व रहेकी महिला नागरिक हुँ भन्ने निष्कर्षमा पुग्न मन लाग्छ ।

म महिला भएकै कारणले छोरी पछि बुहारी बन्नुपर्छ । बुहारीको अस्तित्व छोरीको समान हुँदैन , बुहारी झनै नागरिक भन्दा फरक र सिमित अधिकार भएकी महिला हुन् भन्ने कुरा हाम्रो समाजमा पुष्टी भइसकेको छ । बुहारी, बुहारी मात्र नभएर पत्नी हुन्छे , भाउजु हुन्छे , माइजु हुन्छे । अनि त्यसपछि उसको अस्तित्व आमा , काकी र ठूलीआमाको रूपमा पुग्दछ । त्यसैले यो विभेद मेटाउन गाह«ो लाग्छ मलाई । नारी अधिकारको कुरा गर्नेहरूले जति सुकै भाषण गरेपनि नारीका अधिकार सिमित छन् । नारीलाई बिहेपछि पुरुषको घरमा जानैपर्ने बाध्यता छ । यो बाध्यता पुरुषलाई किन नहुने ? पुरुषले नारीलाई बिहे गरेर आफ्नो घरमा लैजान मिल्छ भने नारीले पुरुषलाई बिहे गरेर आफ्नो जन्मेको घरमा लैजान किन नमिल्ने ? के यो विभेद नारी अधिकारका कुरा गर्नेहरूले अन्त्य गर्न सक्छन् ?यो असम्भव कुरा हा,े त्यसैले महिला फरक नागरिक हुन भन्ने मेरो मान्यता छ ।

महिलालाई पुरुष सरह नागरिक बनाउन सबैभन्दा पहिले शिक्षाको आवश्यक्ता छ । जबसम्म महिला शिक्षामा पछि पर्छिन् तबसम्म महिला पूर्ण नागरिक बनेको मान्न सकिने अवस्था छैन । हामी आधा आकाश र आधा धर्तीका कुरा गर्छौ, हामी रथका दुई पाङ्ग्रा पनि भन्छौं तर त्यो हैसियतमा महिलालाई पु¥याउने जिम्मेवारी बहन गर्न हामी सकिरहेका छैनौं । नागरिक अधिकारका कुरा गरिरहँदा महिला नागरिकका अधिकारका कुरा फरक ढङ्गले उठाउनु पर्छ भन्ने मलाई लाग्दछ । नागरिक अधिकार सत्ताले कुण्ठित गराउँछ तर नारी अधिकार सत्ता बाहेक घरभित्रै पनि कुण्ठित भइरहेको हुन्छ । त्यसैले नागरिकको सामान्य परिभाषामा महिला नागरिक पर्न सकिरहेको जस्तो मलाई लाग्दैन । मैले माथि उल्लेख गरिसकेकी छु कि नारीलाई शिक्षा नदिएसम्म उ नागरिक बन्न सक्ने अवस्था रहन्न । पुरुषबाट परिचालित हुनुपर्ने, पुरुषमै आश्रीत हुनुपर्ने अवस्थाले नारीलाई नागरिक बन्न दिँदैन । नारीलाई नागरिक बनाउन नसकिएसम्म नारीलाई नागरिक भन्दा फरक परिभाषामा राख्नु उपयुक्त होला ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here