काठमाडौं – सर्वोच्च अदालतले चार पटक लगातार रिहा गर्दै आएको र सरकारले अदालत परिसरबाटै पक्राउ गर्दै जिल्ला जिल्लामा कुदाउँदै र अपराधी भन्दै आएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड), लगयतका नेताहरुलाई बन्दी प्रत्यक्षीकरणको आदेशका लागि भोलि शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइदैँ छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टालीले वार्ताको लागि सो पार्टी संग पहल गरिरहेको अवस्थामा विप्लवले आफ्नो पार्टी नेकपा प्रति सरकारको दृष्टिकोण स्पष्ट नभएसम्म वार्तामा नबस्ने भनी जवाफ दिए लगत्तै देशका चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको ब्रिफिङ सरकार समक्ष गरेको थहा भएको छ ।
सरकारले गठन गरेको वार्ता टोलीले सुरक्षा निकायका प्रमुखसँग लिएको सुझावमा ध्वंसात्मक आन्दोलनतर्फ मोडिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व तत्काल हेर्दा राजनीतिक कार्यदिशाबाट निर्देशित रहेको ब्रिफिङ गरेको बुझिएको छ । यसरी ब्रिफिङ गर्नेहरुमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी र नेपाली सेनाका उच्च अधिकारीहरु रहेको थहा भएको छ । सुरक्षा निकायका प्रमुखहरुले विप्लव नेतृत्वको नेकपाको आन्दोलन राजनीतिक रूपमै समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।


















