प्रहरी हवल्दार छोराको हत्यारालाई प्रहरीले नै बचाउन खोज्यो : पीडित परिवार

242

 काठमाडौं/ गत जेठ २३ गते सल्यानमा मृत फेला परेका प्रहरी हवल्दार रमेशकुमार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतकका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलन गरेर आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले उल्टै घट्नालाई तोडमोड गरेको आरोप लगाए ।

उनले भने,‘जेठ २३ गते सल्यानको सारदा नगरपालिका सिराचौर वडा नम्बर ५ को जंगलमा मेरो छोराको लाश भेटियो त्यसपछि दैलेखबाट ४ जना हाम्रा मान्छे लाश लिन सल्यान पुगे, त्यसपछि प्रकृति मुचुल्का उठाएर शवको पोष्टमार्टम गरियो, २४ गते राति ३ बजे छोरोको लाश दैलेख पुर्याइयो, हामीले धर्मकर्मको आधारमा सतगत गर्यौ, हामीलाई शंका लागेर सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं । तर, जाहेरी लिन मानेन्, सल्यान प्रहरी प्रमुख भरतबहादुर बिककै सामुन्नेमा प्रहरी जवानसमेत रहेकी मेरी बुहारीले अपमान हुनेगरि कठालोसमेत समातिन्, प्रहरी प्रमुखले कुनै प्रतिक्रिया दिनुभएन ।’

उनले भने,‘छोराको लाश भेटिएको ठाउँमा समेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन् भन्ने मैले सुनें, श्रीमान् मरेको बेलापनि दुःखित् नहुनु, कुनै प्रकारको संवेदना प्रकट नगर्नुले छोराको हत्यामा संलग्न व्यक्ति त्यही बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरीकहाँ जाहेरी दिन गएको थिएँ । तर, प्रहरीले जाहेरी बुझ्नै मानेन ।’

पीडित परिवारले दिएको जानकारी अनुसार बर्दियाको ई.प्र.का.मैनापोखरबाट ३४ वर्षीय मृतक हवल्दार रमेश कुमार थापा जेठ २० गते ससुराली सल्यान पुगेका थिए ।

ई.प्र.का.मैनापोखरमै कार्यरत महिला प्रहरी जवानसमेत रहेकी एवम् मृतक थापाकी श्रीमती यशोधरा रावल जेठ १७ गतेनै सल्यान आएको र श्रीमान श्रीमतीबीच मनमुटाव भएको सामान्य जानकारी पाएका पीडित परिवारले जानकारी दिएको छ ।

श्रीमान् र श्रीमती एउटै कार्यालयमा कार्यरत हुँदापनि श्रीमान्लाई कुनै जानकारी नदिई एक्कासी यशोधा आफ्नो माईतीघर सल्यान गएको पीडित पक्षको दाबी छ ।

मृतक थापाका बुबा भन्छन्,‘राष्ट्रको सेवा गरिरहेको अवस्थामा मेरो छोराको एक्कासी हत्या भएको छ, हत्याको दोषीलाई चाँडो खोजेर कारबाही गर्नुपर्छ भनेर सल्यान, सुर्खेत हुँदै काठमाडौंसम्म पुगिसकेको छु, तर सरकार र प्रहरी प्रशासनले कुनै प्रकारको न्याय दिन्छजस्तो लाग्दैन, तथापी सरकारले मेरो छोराको हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गरेन भने नेपालको अदालतमात्रै होइन अन्तर्राष्ट्रिय अदालतसम्म पुग्छु।’

जिल्ला प्रहरी कार्यालय सल्यानले घट्नाको बारेमा सत्यतथ्य लुकाउन खोजेको पीडित परिवारले आरोप लगाएका छन्।

उनले भने,‘मेरो छोराको शरिरभरि घाउ छन्, नाङ्गै स्थितिमा लाश भेटिएको छ, यस्तो अवस्थामा हत्या नभएर के हुन्छ ? यस्ता घट्नाहरुलाई किन प्रहरीले लुकाउन र दबाउन खोज्दैछ ? प्रहरी किन मौन छ ? मेरो छोरोको हत्याराको संरक्षणमा रहेको प्रहरी प्रशासनले हामीलाई कमजोर नठाने हुन्छ, हामीले न्यायको लडाई लड्नुपर्यो भने परिणाम ठिक हुनेछैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here