राजधानीभित्र न्यूनतम भाडा १५ रुपैयाँभन्दा बढी नतिर्नुस् :  विभाग

374

काठमाडौं / सरकार र यातायात व्यवसायीबीच आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सहमति भएको छ । तर यसले राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५ रुपैयाँ नबढ्ने भएको छ।

दशैँमा राजधानीबाट घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकार बाध्य भएर १० प्रतिशत भाडा बढाउन सहमत भएको हो।

अहिले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानीय छोटा रुटहरुमा सवारी साधनमा चढ्ने बित्तिकै यात्रुहरुसँग १५ रुपैयाँ लिने गरिन्छ । सरकारले २०७२ सालमा भाडादरको वैज्ञानिक समायोजन गरेर तोकेको भाडादर भने १३ रुपैयाँ मात्रै हो । अर्थात् ४ किलोमिटरसम्मको भाडा १३ रुपैयाँ तोकिएको छ। तर व्यवसायीले चढ्ने बित्तिकै १५ रुपैयाँ लिने गरेका थिए।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार २०७२ सालमा तोकिएको भाडादरमा १० प्रतिशत वृद्धि भएको हो। उनका अनुसार अहिले व्यवासायीले लिएको भाडामा नभई सरकारले तोकेको भाडामा १० प्रतिशत वृद्धि हो।

१३ रुपैयाँमा १० प्रतिशत वृद्धि हुँदा १४.३ रुपैया मात्रै हुन्छ। अर्थात् अब नयाँ भाडादर अनुसार ४ किमीसम्मको भाडा १५ रुपैयाँमात्रै तिरे पुग्छ।

यसअघि यात्रुहरु भाडामा ठगिँदै आएका थिए। सवारीसाधनहरुले आफुखुसी लिइरहेको भाडादरमा १० प्रतिशत वृद्धि गरेको पाइए कारबाही हुने विभागले चेतावनी समेत दिएको छ।

नयाँ भाडादर कायम भएसँगै अनुगमन गर्ने समेत विभागले जनाएको छ।

त्यसैगरी ५ किमीसम्मको भाडादर १५ रुपैयाँ तोकिएको छ। नयाँ भाडादर अनुसार १६.५ रुपैयाँ हुन्छ । ६ किमीसम्मको १६ रुपैयाँ तोकिएको छ। यो वृद्धि हुँदा १७.६ रुपैयाँ हुन्छ । त्यस्तै ८ किमीसम्मको १७ रुपैयाँ रहेको छ। यसमा नयाँ भाडा अनुसार १८.७ रुपैयाँ हुन्छ । १० किमीको १९ रुपैयाँ तोकिएको छ। नयाँ भाडादर अनुसार २०.९ रुपैयाँ हुन्छ । १६ किमीसम्मको २३ रुपैयाँ भाडादर रहेकोमा नयाँ वृद्धि अनुसार २५.३ रुपैयाँ हुनेछ। त्यस्तै १९ किमीभन्दा माथि २५ रुपैयाँ तोकिएको छ। अब यो २७.५ रुपैयाँ हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here