हाम्रो देशमा उसै त नेताहरूको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरूलाई जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन । उता अमेरिकामा भने जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो सहरको मेयर चुनेका छन् ।
क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो ।
मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उपमेयरमा नियुक्त गरिएको छ । दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरूको नाम माइकी र मित्जी हो । उनीहरू दिदीभाइ हुन् । मेयर चाहीँ उनीहरूको भतिज ।
मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ । नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरू तथा सञ्चार माध्यमसँग धेरैभन्दा धेरै तस्वीर खिचाउनु रहेको छ ।
साथै सहरमा हुने हरेक सार्वजनिक कार्यक्रममा मेयर अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ । स्मरण रहोस् एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरूको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानुनी मान्यता भने पाएका छैनन् ।


















