तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिकाले नगरको प्रोफाइल निर्माण गर्न लागेको छ । नगरको आवधिक योजना निर्माणको पूर्वाधारका रुपमा प्रोफाईल निर्माण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।
प्रोफाइल निर्माणका लागि उपमहानगरपालिकाले तुलसीपुरमा गणकहरुका लागि दुईदिने तालिमको आयोजना समेत गरेको छ । तालिमको उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तथ्याङ्क संकलन गर्दा वस्तुगत र तथ्यपरक भएर संकलन गर्नुपर्ने जनाउँदैै तथ्याङ्क संकलनमा त्रुटी भए योजनामा पनि त्रुटी हुने वताए । उनले ६ महिनाभित्र प्रोफाईलको काम सम्पन्न गर्ने र सोही अनुसार आवधिक योजनाहरु निर्माण गर्नेे उनको भनाई थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पाण्डेले कोही नदोहोरीयोस् र कोही नछुटोस् भन्नका लागि गणकहरु सतर्क हुनुपर्ने जनाए ।
कार्यक्रममा वोल्दै तथ्याङ्क समितिका संयोजक नवराज लामिछानेले तथ्याङ्का आधारमा योजना निर्माण गर्दा वैज्ञानिक ढँगले विकास हुने भएकाले तथ्याङ्कको आवश्यकता रहेको वताए । तथ्याङ्क संकलनलाई त्रुटी रहित वनाउनका लागि गणकहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।
उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत केशरवहादुर वलीले उपमहानगरपालिकालाई निश्चित दिशा र गति दिनका लागि तथ्याङ्कको आवश्यकता पर्ने जनाए । तथ्याङ्कले वर्तमानको अवस्था र भविष्यको समेत रेखांकन गर्ने भएकाले हरेक कामका लागि तथ्याङ्कको आवश्यकता रहेको उनको कथन थियो ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा एस.जि.एस. कन्सल्टेन्सी प्रालिले तथ्यांङ्क संकलनको जिम्मेवारी लिएको छ । प्रालिका तर्फबाट विष्णुदेव केसीले स्वागत मन्तव्य राखेका थिए । दुइदिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षकमा विकिरण गौतम रहेका छन् ।


















