सूचना नदिने कर्मचारी विरुद्ध आयोगमा उजुरी दिन आग्रह

271

नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको जनाए ।

महासंघ महिला समितिले आज आयोजना गरेको सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्ध आयोगमा उजुरी दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने जोड दिए ।

सञ्चारिका समुहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गरे । उनले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको जनाइन् ।

कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राखिन।

महासंघ लेखा समिति सदस्य मिराराज भण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राखिन ।

कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दिपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राखे ।

कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समुहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here