काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन् ।
गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणलाई संलग्न गराई आज काठमाडौंमा एक वृहत् प्रभातफेरि गरिएको छ ।
विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि गर्ने क्रममा नर्भिक हस्पिटलले सो प्रभावतफेरि कार्यक्रम आयोजना गरेको हो ।
उक्त प्रभातफेरिमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए ।
प्रभातफेरि बिहान ७ः०० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर ÷ महादेवस्थान, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।
सेप्टेम्बर २९ तारिख अर्थात् भोलि असोज १३ गते शनिबार विहान १०ः३० बजे निर्धारित नर्भिकको विश्व मुटु दिवस २०१८ को औपचारिक कार्यक्रम स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिने कार्यक्रम तय भएको छ भने सोही दिन उक्त औपचरीक कार्यक्रम पूर्व विहान ८ः०० बजे देखि १०ः०० बजे सम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओ.पी.डी विभागमा दिनेछ ।
विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या बढेर झण्डै दुई करोड पुग्न लागेको अनुमान छ।