काठमाडौं/ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने जनाउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको जनाए । उनले भने,‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन्।’
राजधानीमा एक कार्यक्रममा वोल्दै उनले भने, ‘हामीले काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं । नेपालमा मासुको प्रयोग बढि नै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन् । तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित रहेकोले हामीले बन्द गर्यौं ।’
उनले भने,‘विगतमा कसरी व्यवस्था गरिएको थियो मलाई त्यति थाहा भएन् । तर, अहिले जनताका सरोकारका विषय दुषित, प्रदुषित खाद्यवस्तुबाट रोगहरु लाग्छ । पानीबाटपनि रोगहरु उत्पन्न भएका छन् । खाने तेल र दुधकोपनि स्थिति त्यस्तै छ ।’ बधशालालाई व्यवस्थित गर्नको लागि मासु जाँच ऐन–२०५५ जारी गरिएपनि कार्यान्वयन नभएकोमा उनले गुनासो पोखे । उनले थपे,‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ । अब कार्यान्वयनतर्फ ध्यान दिनपर्छ । ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन् ।’
त्यस्तै उनले हेटौंडामा रहेको पूरानो बद्शालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी गर्ने पनि जानकारी दिए । उनले भने,‘दैनिक ४ सय राँगा काट्न सकिन्छ । हेटौंडालगायत अन्य ठाउँमा बध गरेर काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न सकिन्छ । सरकारले यसबारेमा पनि सोचेको छ ।’
त्यस्तै उनले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए ।
उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे । उनले भने,‘अरु मासुपनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन् ।’
मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए । उनले भने,‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं । अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ । गुणस्तर कायम गरेका छौं।’
पछिल्लो समय चिनी, खाद्य मल र पेट्रोलियम पदार्थमा महँगी देखिनुमा डलरको भाउ बढ्नुलेपनि केही असर परेको स्पष्ट पारे । उनले भने,‘तर हाम्रो देशमा उत्पादित खाद्य वस्तु र छिमेकी देशबाट आयात हुने कुरामा डलरको त्यति धेरै असर त होईन होला । खाद्य वस्तुको कुरा गर्दा हिजो २ महिना अघि र अहिलेको तुलनामा मुल्यवृद्धि भएकोजस्तो मलाई लाग्दैन् ।’


















