काठमाडौं / बुधबार राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति तथा सदस्यहरुलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा प्रस्तुतिकरण गरिएको छ ।
उपप्रधान तथा रक्षा मन्त्रि इश्वर पोखरेलको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठ्माण्डौं-तराईरमधेश द्रुतमार्ग (Expressway) आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको थियो ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र अन्त्यमा माननीय उपप्रधान तथा रक्षा मन्त्रि पोखरेलले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु, रक्षा मन्त्रालयका सचिव तथा पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।


















