अब लोक सेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने अध्यक्ष मैनालीको दाबी

212

काठमाडौं / लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले ईतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयकासाथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,‘अब अर्कोपटक सार्दैनौं ।’

साक्षात्कारमा अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने धारणा राखेका छन् । उनले भने,‘हामीले एक/दुई वटा विषयमा सरकारलाई सुझाव दिएको छौं, सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्छ, हामीले नचाहँदा नचाहँदैपनि सरकारको असहजतालाई ध्यानमा राखेर दुईमहिनाको लागि विज्ञापन रोकेका हौं, यो हाम्रो बाध्यता हो, सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ।’

मैनालीले प्रदेश लोक सेवा आयोग गठनका लागि आवश्यक कानुनसमेत निर्माण नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रदेश लोक सेवा आयोगको गठनमा ढिलाई हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको पनि गुनासो पोखे । अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन आवश्यक आधार र मापदण्ड तय गरिएको पनि जनाए ।

अध्यक्ष मैनालीले लोकसेवा आयोगलाई निष्पक्ष र विश्वसनीय बनाईराख्नको लागि प्रदेश लोकसेवा आयोगलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखेका छन् । उनले भने,‘आस र त्रासभन्दा बाहिर रहेर मुलुक र जनताको सेवा गर्नु कर्मचारीको धर्म हो, कर्म हो, त्यो गर्नुपर्छ । हामीले त परीक्षा लिने हो, राम्रो र योग्य व्यक्ति छान्ने हो, भर्ना गर्ने काम सरकारको हो, राणा शासनमा चाकडी र राजतन्त्रको बेला थर र घरको आधारमा बाँड्ने जागिरलाई २००७ सालको परिवर्तनपछि २००८ असाढ ८ गते स्थापना गरिएको आयोगको एउटै उद्देश्य भनेको योग्यताका आधारमा जनताको सेवा गर्नुपर्छ, त्यस्तो मानिसलाई राज्यको निकायमा पुर्याउनुपर्छ भन्ने नै हो ।’

‘पेपर र पेन्सिल’को आधारमामात्रै लिईने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै अध्यक्ष मैनालीले भने,‘व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिलमात्रै होईन, अरु ज्ञानको पनि खाँचो हुन्छ, त्यसैले आयोग यसतर्फ सचेत छ, योग्यता परीक्षणका नयाँ विधिहरु अघि सार्ने योजना बनाउँदैछ, घरमै बसेर फर्म भर्न सकिने व्यवस्थामा प्रवेश गरिसकेको छ, आयोग ईतिहासदेखि आजको दिनसम्म कुनैपनि आक्षेप र विवादमा नमुछिएर काम गर्न सफल छ, सुरक्षा निकायको परीक्षासमेत आयोगले लिने अधिकार पाएको छ, आयोगले प्राप्त गरेका अधिकारहरुलाई पूर्ण रुपमा पालना गरेको छ, आगामी दिनमा पनि यसको ईतिहास र गरिमालाई कायम राख्नेछ । सरकारले गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्छ भन्ने आयोगको माग हो ।’

फरक प्रसङ्गमा उनले प्रदेश सरकारले हामीलाई यति कर्मचारी चाहियो भनेर लिखित रुपमा दिए आयोगले ६ महिनाभित्रै कर्मचारी पदपुर्ति गरिदिने विश्वास दिलाए । उनले भने,‘कर्मचारी समायोजना ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपुर्ति गरिदिन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here