विराटनगर / नोबेल शिक्षण अस्पतालले ९५ वर्षीय वृद्धको मुटुमा पेसमेकर अर्थात विद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।
पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका व्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग विशेषज्ञ डा.राजेश नेपालको दावी छ । ‘नेपालमा यत्ति धेरै बृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन ।’ डा.नेपाल भन्छन् ‘९५ बर्षीय बृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।’ यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोसन राउतले ९० बर्ष हाराहारिका कतिपय वृद्धवृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका वृद्धवृद्धालाई राखिएको छ भन्ने यकिन नभएको जनाए ।
व्यस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिब ६० देखि १०० पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा विद्युतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउँन सहयोग गर्छ । जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउँन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० बर्ष उमेरका ब्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको पाईन्छ । मुटुरोगको उपचार गर्दै आएका राजधानीका केहि अस्पतालमा ९० बर्ष हाराहारीका बृद्धबृद्धालाई पेसमेकर राखिएको विरलै मात्र भेटिएको छ । तर, नोबेलले ९५ वर्षका वृद्धलाई सफलतापूर्वक पेसमेकर राखेर निको बनाएको हो ।
नोबेल अस्पतालको शै्यामा भेटिएका वृद्ध देवानले आफूलाई पहिलेको तुलनामा धेरै सन्चो भएको प्रतिक्रिया दिए । ‘पहिले त मरिहालिन्छ कि जस्तो भएको थियो । तर, अहिले धेरै ठिक भएको छ ।’ देवानले भने । पेसमेकर लगाउँदा छातिमा चिरेर ब्याट्री राख्ने गरिन्छ । धेरै वृद्ध ब्यक्तीको छाला कमजोर हुने भएकाले चिरेको ठाउँमा सिलाई गर्न गाह्रो हुँने र घाउ निको हुन गाह्रो पर्ने हुँदा समस्या हुन्छ । वृद्ध अवस्थामा अन्य रोगहरुको पनि संक्रमण हुने भएकाले थप जटिल हुने र अप्रेशन असफल भएर बिरामीको मृत्यु हुनसक्ने खतरा बढी भएतापनि नोबेलले देवानलाई निको बनाएपछि उनका आफन्त पनि हर्षित छन् ।
‘बुवालाई ठिक होला कि नहोला भनेर धेरै डर लागेको थियो । तर, राम्रो उपचार पाएर अहिले बुवाको अवस्था धेरै सुधार भएको छ ।’ छोरा गोपालले खुशी हुँदै भने ‘जुन विश्वास गरेर नोबेल आएका थियौ, त्यस्तै राम्रो उपचार पायौ ।’ उपचार पश्चात निको भएर देवान अहिले घर फर्किएका छन् ।
नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी भएका बिरामीहरुलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी विश्वकै दुर्लभ र जटिल रोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको छ । स्तरीय डाक्टर र अत्याधुनिक उपकरणको ब्यवस्थापनका कारण गुणस्तरीय उपचारका क्षेत्रमा नोबेल अस्पताल अब्बल सावित भएको अस्पताल सञ्चालक डा।सुनिल शर्माको भनाई छ ।

















