काठमाडौं / काठमाडौंमा न्यू रोड नजिकै एउटा मन्दिर छ, महांकाल भैरव । हरेक दिन यस मन्दिरमा हजारौं भक्तिहरू परमप्रभुको उपासना गर्न आउने धेरैलाई यस मन्दिरमा पूजा सामग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्न सक्छ।
करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामग्रीका रुपमा मदिरा अनिवार्य छ। मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्ने ? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ।
यो मन्दिर कलिगत संवत् ३८२२ मा गुणकामदेवले स्थापना गरेको विवरण वंशावलीहरूमा उल्लेख छ । तर यो संवत् के हो भन्ने कुरा स्पष्ट छैन । महाकालको स्थापनासम्बन्धी एउटा किंवदन्ती प्रचलित छ ।
कुरा प्राचीन तान्त्रिक युगको हो। शाश्वत नामका बज्राचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रसिद्धि बिहारको मुख्य (पुजारी) थिए। ती तान्त्रिक गुरु एक दिन नुहाइधुवाइ गरी शरीरमा तेल लगाएर मध्याह्नको समयमा टुँडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकाशमा कालो बादल मडारियो। जसका कारण केहीबेरमै धर्ती–आकाश पूरै अन्धकार हुन पुग्यो।
यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बज्राचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकाशमा महांकाल भैरव भगवान् आएको थाहा पाए। उनले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका महांकाल भैरव काठमाडौंको आकाश हुँदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किंवदन्तीमा उल्लेख छ।
प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु शाश्वत बज्राचार्यले महांकाल भैरव भगवान्लाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।
त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र त्यसपछि आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे।
महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किंवदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान् महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।
नेपाल मण्डलमा रहँदा महांकाल भैरवले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर उनले नेपाल मण्डलका सबै मानवजातिलाई आफ्नो काखमा राखे। राक्षसको क्रूर व्यवहारबाट प्रताडित समुदायको साथमा भगवान् बुद्धका अवतारसमेत थिए।
सो समयमा भगवान् बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै महांकाल भैरवसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ।
बुद्ध अवतारको आग्रहलाई महांकाल भैरवले स्वतः स्विकार गरे। तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएका कारण महांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण महांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ।
प्राचीन समयमा महांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टिको भागमा भए तापनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाइको ढुंगाको मूर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवान्को मूर्तिमुनि उनको वाणसमेत राखिएको छ। जुन गुरु बज्राचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्।
तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पूजा गर्ने विधि) बाट पूजा गर्न थालिएको मानिन्छ । तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु शाश्वत बज्राचार्यले नै गरेका हुन्।
बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान् बुद्धले सुरु गरेको जनाइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास छ।
महांकाल भैरव मन्दिरमा तान्त्रिक पूजा विधिबाट पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ। चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ । सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ। महांकाल भैरव मन्दिरमा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी चढाउने गरेको पाइन्छ ।


















