वातावरण प्रदूषण रोक्न स्कुलहरूबाटै जनचेतनाको अभियान जरुरी

170
Nisha Tamang

वातावरण प्रदूषण विश्वमै जटिल समस्या बन्दै गइरहेको छ । महाशक्तिशाली बन्ने होडमा रहेका प्रतिस्पर्धि र आर्थिक रूपमा संसारकै पहिलो र दोस्रो हैसियत बनाएका अमेरिका र चीनजस्ता मुलुकका निम्ति वातावरण प्रदूषण ठूलो चुनौती बनेको छ । वातावरण प्रदूषणकै कारणबाट हुने विभिन्न खालका प्राकृतिक विपत्तिहरूको सामना गरिब मुलुकले मात्र होइन धनी मुलुकहरूले पनि गर्नुपर्ने बाध्यता भएकाले वातावरण प्रदूषणप्रति धनी मुलुकहरू पनि चिन्तित बनिरहेका पाइन्छन् ।

बढ्दो शहरीकरणसंगै बढ्दै गएको वातावरण प्रदूषणबारे हामी सबले देखे भोगेकै हो । जति धेरै शहरबजारहरू निर्माण भएका छन् त्यति नै धूवाँ धूलाकोे प्रदूषण फैलिदैँ गएको हामी देख्न सक्छौं । वातावरण प्रदूषणलाई सन्तुलनमा राख्न सबैभन्दा महत्वपूर्ण विषय नै हरियाली हो । हरियाली बढाउनका लागि वृक्षारोपण नै महत्वपूर्ण अभियान सावित हुने छ ।

हरियाली पछि फोहोरको व्यवस्थापन हो । फोहोरको व्यवस्थापनका लागि चाहे धन िमुलुक होस वा गरिब मुलुक नै किन नहोस त्यतिकै जिम्मेवारी सबैको हुन्छ । विकसित अर्थात धनी मुलुकहरूमा फोहोर व्यवस्थापनको आधुनिक प्रक्रिया अवलम्वन गरेको पाइन्छ । तर अविकसित र विकाशोन्मुख मुलुकहरूमा फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको देखिन्छ । फोहोरबाट प्राप्त गर्न सकिने प्राङगारिक मललगायत उत्पादन गर्न सकिने उर्जा अविकसित मुलुकहरूका निम्ति विकासका पूर्वाधार पनि बन्न सक्दछन् । तर यो पक्षलाई कार्यान्वयन गर्न अविकसित मुलुकहरूलाई दुर्लभ भइरहेको छ । प्रावधिक ज्ञानको अभाव र आर्थिक लगानीमा असक्षमताकै कारणबाट यो सम्भव सकिरहेको छैन । यसका निम्ति विकसित मुलुकहरूले हातेमालो गर्नु आवश्यक देखिन्छ ।

हाम्रो देशको सन्दर्भमा भन्ने हो भने फोहोर व्यवस्थापन र वृक्षारोपण दुबैमा सरकारको ध्यान पुगेको पाइँदैन । फोहोर व्यवस्थापन हुन नसक्दा यसबाट शहरवासीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरेकोबारेमा सरकार अनभिज्ञ छैन । तर पनि सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको पाइँदैन । राजधानी काठमाडौं जस्तो शहरमा समेत फोहोरको व्यवस्थापन हुन नसक्नु सरकारको नालायकीपन हो । सरकारले फोहोर व्यवस्थापन गर्न चाहने हो भने फोहोरबाटै आम्दानी पनि गर्न सकिन्छ । फोहोर संकलनबारेमा सर्वप्रथम जनचेतना आवश्यक हुन्छ । कुहिएर जाने र नकुहिने गरी फोहोरलाई व्यवस्थापन गर्ने काम प्रत्येक घरबाट सुरु गरिनुपर्छ । यसका लागि जनचेतना नै महत्वपूर्ण पक्ष हो । जनचेतनाका लागि सरकारले प्रभावकारी उपाय अपनाउनु पर्दछ । सबैभन्दा प्रभावकारी उपाय स्कुल तथा कलेजका विद्यार्थीहरूलाई प्रशिक्षण दिने काम हुनेछ । विद्यार्थीहरूबाट घरका अभिभावकहरू प्रशिक्षित हुनेछन् ।

यो प्रक्रिया अपनाउने हो भने कुहिने फोहोर र नकुहिने फोहोरलाई अलग भाडामा संकलन गर्ने अभियान प्रत्येक घरबाटै सुरु हुने निश्चित छ । कुहिने फोहोरबाट सजिलै आम्दानी गर्न सकिन्छ भने नकुहिने फोहोरलाई प्रयोग गर्ने प्रविधिको विकासतर्फ विकल्प सोच्न बाटो खुल्ने निश्चित हुन्छ ।

शहरका हरेक ठाँउमा जताततै फोहोरका थुप्राले दुर्गन्धित बनेको अहिलेको वातावरण न व्यवस्थित हुन सकेको छ न व्यवस्थित गर्नेबारे सरकारी निकायले वास्ता गरेको पाइन्छ । विश्व वातावरण प्रदुषणकै कारण वर्षेनी ३४ सय भन्दा बढीको मृत्यु हुने गरेको पाइएको छ । बढी भन्दा बढी मानिसहरूका स्वास्थ्यमा समस्या उत्पन्न भइरहेको छ । यसको कारण पनि यही वातावरण प्रदूषण नै हो ।

स्वच्छ वातावरणको अभाव भइरहेको छ भन्ने कुरा सबैले बुझ्दा बुझ्दै पनि यसतर्फ सबैको चासो देखिदैँन । जनचेतनाको अभावकै कारणबाट जहिँतहिँ फोहोरका थुप्रा मात्र देखिन्छन् । वातावरण प्रदूषणबाट हरेक मनिस पीडित भइरहेका छन् । तर यसतर्फे सरोकारवाला कसैले वास्ता गरेको पाइँदैन । वातवारण प्रदूषण जस्तो अत्यन्त जटिल विषयमा सरकारले ध्यान नदिनु दुर्भाग्य नै हो । सरकारमा पदासिन व्यक्तिहरू विदेश भ्रमणमा जाँदा देख्ने गरेका वातावरण स्वच्छताका कुराहरू देशमा विकास गर्न किन चासो राख्दैनन् ?

वायु प्रदूषणका कारण असर परेका पीडितले न्याय पाउन सकिरहेका छैनन् । न्यायको त के कुरा स्वच्छ वातावरणमा सास फेर्नसम्म मुस्किल परिरहेको छ । त्यस्ता पीडितलाई नेपालको संविधानको धारा ३०(२) बमोजिम क्षतिपूर्ति वातावरण प्रदूषकबाट उपलब्ध भराउन तत्काल आवश्यक कानुन निर्माण गर्ने हो भने निश्चय पनि प्रदूषणलाई नियन्त्रण गर्ने एउटा उपाय बन्ने सक्नेछ ।-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here