सुनसरी — बिहीबार बिहानै देखि सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टाका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या हत्या गरेको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै मृतक हुसैनको शव सडकमै राखेर प्रर्दशन गरिरहेका छन् ।
प्रशासनले सुरक्षा दिन नसकेको र हुसेनको हत्या भएको २४ घण्टा बितिसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रदर्शन गर्दा दुहबी बजार बिहीबार पनि तनावग्रस्त बनेको छ।
सडकमा टायर बालेर प्रदर्शनकारीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने माग समेत गरेका छन्। प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा यातायात आवागमन बन्द भएको छ।
बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए।


















