पहिलेको पाकिस्तान र अहिलेको पाकिस्तान

2102

–निमकान्त पाण्डे

अहिले म करिब १८ वर्ष पछि मिडिया डेलिगेसनमा सहभागी हुन पाकिस्तान आईपुगेको छु । हाम्रो मिडिया प्रतिनिधिमण्डल अहिले पाकिस्तानको इस्लामावादबाट लाहोर आइपुगेको छ । लामो अवधिपछि भएको यो भ्रमणमा मैले पहिले देखेको पाकिस्तान र अहिलेको पाकिस्तानमा धेरै अन्तर देखिरहेको छु । हो विकासको आफ्नै नियम हुन्छ, तर कतिपय विकास समयसँगै हुने विकास भन्दा फरक हुन्छन्, पाकिस्तान भ्रमणका क्रममा मैले त्यही कुरा अनुभव गरिरहेको छु । त्यतिबेलाको पाकिस्तान र अहिलेको पाकिस्तानमा आकाश र पातालको फरक देखियो ।

अहिले पाकिस्तानको सत्ता क्रिकेटरका रूपमा अन्तर्राष्ट्रिय ख्याती कमाएका इमरान खानले सम्हालिरहेका छन् । उनी आफूले सत्ताको नेतृत्व गरेसँगै पाकिस्तानमा आर्थिक समृद्धिको लहर ल्याउने अभियानमा लागेका छन् । उनको काम गर्ने शैलीले आन्तरिक रूपमा जनताको मात्र होइन, अन्तर्राष्ट्रिय सहयोग र समर्थन पनि बढिरहेको छ ।

नयाँ प्रधानमन्त्री खानले आर्थिक समृद्धिका लागि भ्रष्टाचार अन्त्य र मितव्ययीताको नीति अवलम्बन गरिरहेका छन् । उनले आर्थिक समृद्धि र सुशासनलाई आफैबाट शुरु गरेका छन् । प्रधानमन्त्रीका रूपमा आफूले पाउँने सेवा सुविधा समेत कटौती गरी उनी एउटा सामान्य नागरिकको जस्तो जीवनशैली अपनाउँदै मुलुकको समृद्धिका लागि दीर्घकालीन महत्वपूर्ण योजनाहरू अघि बढाइरहेका छन् । भलै पाकिस्तान विगतको अवस्थाबाट धेरै माथि उठीसकेको छ । त्यसमाथी नयाँ प्रधानमन्त्री खानको सत्तारोणसँगै निरन्तरको विकासमा थप विकासको आयामा थपिएको छ । उनी पाकिस्तानलाई परम्परागत भन्दा केही फरक ढंगले अग्रगामी बाटोमा अघी बढाउने योजना बनाइरहेका छन् । त्यसैका लागि उनले आफ्ना महत्वपूर्ण योजना निर्माण र कार्यान्वनलाई तिव्र गतिमा अघी बढाइरहेका छन् । प्रधानमन्त्री खानले अघी सारेका विकास र समृद्धिका संकेतहरू यहाँ महसुस हुने गरी देखिन थालेका छन् ।

१८ वर्ष पहिलेको मेरो यात्रा पाकिस्तानको (पिआइए) विमान मार्फत सिधै राजधानी इस्लामावादसम्मको थियो । यसपटक भने छिमेकी मुलुक भारतको दुरासयले पिआइएको सेवा बन्द भएकाले यात्रा लामो हुन पुग्यो । तीन घण्टामा पुरा हुने यात्रा १३ घण्टा पछि मात्र पुरा भयो । त्यो पनि दुवईमा तीन घण्टा लामो ट्रान्जिटको सास्ती सहित ।

हाम्रो प्रतिनिधिमण्डलमा अग्रज वुद्धिनारायण श्रेष्ठसहित १० जनाको टोली छ । नेपालमा नयाँ सरकार बनेसँगै आर्थिक समृद्धिको बहस चलिरहेका बेला हामी मित्रराष्ट्र पाकिस्तान सरकारले सुरु गरेको समृद्धिको अभियानलाई अवलोकन गर्ने अवसर प्राप्त गरिरहेका छौँ । संयोग नै भन्नुपर्छ नेपालमा समृद्धिको बहस चलिरहेका बेला पाकिस्तान नयाँ प्रधानमन्त्री इमरान खानको नेतृत्वमा आर्थिक समृद्धि र विकासको अभियान चलाईरहेको छ ।

हाम्रोमा आर्थिक समृद्धिको बहस मात्र सुरु भएको छ, जनता र मुलुकले नयाँ सरकार बनेको नौ महिनासम्म पनि परिवर्तन र राहतको महसुस गर्न सकिरहेका छैनन् । तर यहाँको माहौल फरक छ । यहाँ सबैको लक्ष्य एउटै छ, विकसित र समृद्ध पाकिस्तान । त्यही अभियान सफल बनाउन यहाँ राजनीतिक दल, मिडिया देखि जनतासमेत एकजुट छन् । यहाँ राष्ट्रियताका मुद्दामा पनि राजनीतिक दल र मिडिया एक ढिक्का छन् । तर नेपालमा भने मिडिया तथा राजनीतिक दलहरूमा राष्ट्र भन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति मौलाउँदै गएको छ, यसले साच्चिकै मनमा चोट पुग्छ ।

अहिले स्लामावाद एउटा सुन्दर बगैचा जस्तै सजिएको छ । भर्खरै नयाँ विमानस्थल निर्माण भएको छ । लोभ लाग्दा सुन्दर सडक र थप सडक पनि विस्तारको क्रममा छन् । मौसमले पनि इस्लामावादलाई साथ दिएको छ । न धेरै चिसो छ न गर्मी।

इस्लामावाद बसाईका क्रममा पाकिस्तानको इन्स्टिच्यूट अफ स्ट्राटेजिक स्टडिजका महानिर्देशक अजिज अहमद चौधरी तथा अध्यक्ष खालिद मोहम्मद सहितका पदाधिकारीसँग महत्वपूर्ण विषयमा छलफल भयो भने एशोसियट प्रेस अफ पाकिस्तानका प्रबन्ध निर्देशक मोहम्मद उमार उल्लाह सहितको टोलिसँग पनि सञ्चारजगतका विषयमा महत्वपूर्ण छलफल भयो । भेटमा त्यहाँका जनता, वुद्धिजीवी तथा मिडिया क्षेत्र वर्तमान प्रधानमन्त्री खान र उनको सरकारप्रति सकारात्मक र आशावादी रहेको जानकारी समेत प्राप्त भयो ।

नेपाली मिडिया डेलिगेशनले भ्रमणका क्रममा सर्भे अफ पाकिस्तानका उच्च पदाधिकारीहरूसंग अन्तरक्रिया समेत गर्ने अवसर पायो । पाकिस्तानी सेनाको नेतृत्वमा रहेको सर्भे अफ पाकिस्तानका पदाधिकारीहरूले पाकिस्तान र सिमा जोडिएका भारत, चीन लगायतका देशहरूसंगको सिमा अवस्थाबारे मिडिया टोलीलाई जानकारी गराए ।

नेपाली मिडिया टोलीका तर्फबाट सिमाविद् बुद्धि नारायण श्रेष्ठले नेपाल र भारत तथा चीन बीचको सीमा अवस्थाबारे जानकारी गराउँदै नेपाली भूमि भारतले व्यापक रूपमा अतिक्रमण गरिरहेको तथ्यबारे स्पष्ट पार्नु भएको थियो ।

भ्रमणकै क्रममा पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्सालपनि भेट भयो । उहाँ हाम्रो प्रतिनिधिमण्डलसँगै निकै हार्दिकताका साथ प्रस्तुत हुनुभयो । उहाँले नेपाल र पाकिस्तानबीचको सिधा उडानका लागि आफू प्रयासरत रहेको जानकारी दिनुभयो । पाकिस्तानमा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरेको र पाकिस्तान र नेपालको सम्बन्धमा नयाँ आयाम दिन आफू प्रयासरत रहेको विषयमा पनि उहाँले जानकारी गराउनुभयो । उहाँ दुई मुलुककाबीचमा सम्बन्धको नयाँ अध्याय सुरु गर्न मनदेखिनै लागिपेको उहाँको कामप्रतिको लगावले पुष्टि गथ्र्याे ।

भ्रमण अझै केही दिन बाँकी नै छ, यसबीचमा विभिन्न महत्वपूर्ण भेटघाट तथा छलफल पनि बाँकी नै छन् । तथापि पछिल्लो समयमा पाकिस्तानले गरिरहेको विकास र प्रगति भने पाकिस्तानमा टेकेदेखि नै महसुस गर्न सकिन्छ । सुनिने पाकिस्तान र वास्तविक पाकिस्तानमा धेरै ठूलो अन्तर छ । दक्षिण एशियामा विकासको नयाँ आयाम थपिरहेको पाकिस्तानको विकास र समृद्धिले सबैलाई लोभ्याइरहेको छ, र मनमनै भन्न मन लाग्छ, नेपाल पनि विकासको यही लयमा अघी बढ्न सके कति राम्रो हुथ्यो होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here