जनकपुर / भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत यहाँका मन्त्रीहरुले स्वागत गरेका थिए ।
हजारौं धर्मावलम्बीको भीड हुने विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर आउने भएपछि जनकपुरको सुरक्षा बन्दोबस्त कडा पारिएको छ ।
भीडको व्यवस्थापनका जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा योजना लागू गरेको छ भने आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी कार्यालयले अलगै योजना ल्याएको छ ।
हजारौं मानिस उपस्थित रहने राम–जानकी विवाह महोत्सवमा भीडलाई नै प्रमुख थ्रेट ९चुनौती० मान्दै सुरक्षा योजना तयार पारिएको छ । आदित्यनाथको भ्रमणले सुरक्षा निकाय झन् चनाखो बनेको छ ।
विवाहपञ्चमीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आन्तरिक मामिला मन्त्री यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाकर्मीको संख्या थपिएको बताए । उनले ४ हजारभन्दा बढी सुरक्षाकर्मी मंगलबार नै परिचालन भइसकेको जनाए ।


















