काठमाडौंं / नेपाल भ्रमणमा आएका म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले आज स्वागत गरेको छ ।
दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको सो टोलीलाई काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिलका सञ्चालक समिति सदस्यले स्वागत गर्नुभयो ।
लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँलगायत स्थानको भ्रमणसमेत गर्ने उद्देश्यसहित श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसहित पाँच जनाको टोली आज बेलुका काठमाडौँ आइपुगेको हो ।
बिहीबार बिहान १० बजे सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष श्रेष्ठले पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन मिडिया, पर्यटन र सांस्कृतिक क्षेत्रबाट सहयोग पु¥याउने उद्देश्य रहेको जनाउनुभयो । श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेले द्वन्द्वबाट गुज्रिएका मुलुकले नेपाल राष्ट्रबाट धेरै कुरा सिक्न सक्नेछन् भन्नुभयो ।
म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ९१ वर्षीय ओहन केइङले दोस्रो विश्वयुद्धपछि शुकबहादुर राईसहितको पाँच जनाको गोरखाली टोलीलाई म्यान्माले उच्च सम्मान दिएको स्मरण गर्नुभयो । पाँचदिने हालको भ्रमणबारे म्यान्माका लेखक चित वमइन म्ययुङले पुस्तक पनि लेख्नुहुने जनाइएको छ ।


















