-निशा तामाङ
गतांकमा यसै स्तम्भमा मैले ‘महिलामाथि हिंसा रोक्न पुरुषमा सचेतना आवश्यक’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गरेकी थिए । महिलामा जति सुकै हिंसा विरुद्धको सचेतना भएपनि पुरुष हिंसामा उत्रिएपछि महिलाको केही लाग्दैन भन्ने कुरामा धेरै शुभेच्छुकहरूको सुझाव प्राप्त भयो । आज यो स्तम्भ लेख्न बसिरहँदा विश्वभर नै मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समाप्त भएको २४ घण्टामात्र बितेको छ । दुई हप्ते अभियानले महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारविरुद्धको जागरण कति ल्याउन सक्यो भन्ने कुरा अभियान आयोजकहरूले नै लेखाजोखा गरेका होलान् ।
मलाई भने कुनै उपलब्धी भएजस्तो महसुुस भइरहेको छैन । स्वीकार छैन भन्दैमा महिला हिंसाको अन्त्य हुँदैन । महिलाबाट जहाँ स्वीकार हुँदैन त्यहिँ बलात्कार हुन्छ र हत्या पनि हुने गरेको छ । स्वीकारोक्तिको विकल्प महिला संग अरु हुनै सक्दैन । अस्वीकार र प्रतिकारले ज्यान जोखिममा पर्ने अवस्था आउँदछ । यस वर्ष‘लैङ्गिक हिंसा र दुव्र्यवहारस्छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म महिला हिंसाविरुद्ध १६ दिवसीय अभियान सञ्चालन भयो । महिला भएकै कारण महिलामाथि हुने हिंसा नै महिला हिंसा हो । समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघले महिलामाथि हुने हिंसाका बारेमा परिभाषित गर्दै महिलालाई लैंगिक, शारीरिक र मनोवैज्ञानिक रूपमा गरिने शोषण नै महिला हिंसा हो भनेको छ । तर यो हिंसा रोक्न महिलामा भन्दा पुरुषमा सचेतना आवश्यक छ भन्ने वास्तविकतातर्फ कसैले पनि ध्यान पु¥याउन सकेको पाइदैन ।
नेपालमा महिला हिंसा विरुद्ध हालसम्म भएका विचारगोष्ठीहरूले कुनै उपलब्धी हासिल हुन सकेको महसुुस भएको छैन । पाँच तारे होटेलहरूमा गरिने विचार गोष्ठीहरूले ग्रामिण क्षेत्रमा कुनै सन्देश पुग्न सक्दैन । ग्रामिण क्षेत्रका दश जना युवा पुरुषहरूलाई गाउँमै भेला गराएर प्रशिक्षण दिने हो भने त्यसको प्रभावकारिता अवश्य पनि फरक हुन सक्ला । पाँच तारे होटेलमा एउटा विचारगोष्ठीका लागि गरिने खर्चले २० वटा गाउँमा २०० जना पुरुषलाई प्रशिक्षण दिन सकिन्छ । यसतर्फ अभियन्ताहरूले ध्यान पु¥याउन सके परिणाम राम्रै आउन सक्ला १ ‘नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनिएको छ । महिलामाथि घरेलु हिंसा भएमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा १७ अनुसार ३ हजार रूपैयाँदेखि २५ हजार रूपैँयासम्म जरिवानाको व्यवस्था समेत गरिएको छ । यति हुँदा पनि दैनिक रूपमा महिला हिंसाका डरलाग्दा घटना भइरहेका छन् । प्रत्येक घटनाहरूमा पुरुषको संलग्नता निर्लज्जतापूर्ण छ । त्यसैले पनि पुरुषहरूमा सचेतना आउन नसक्ने हो भने महिलामाथि हुने हिंसा रोकिने छैन ।
महिला हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष मनाइँदै आए पनि नेपालमा महिला हिंसामा कमी आउने कुरा त धेरै टाढाको विषय भइसकेको छ बरु यो प्रतिदिन बढ्दो छ । निर्मला पन्तको चर्चित बलात्कार र हत्याकाण्ड संसारमै चर्चित बन्ने अवस्था विकसित हुँदैछ । एउटी नारी निर्मलालाई बलात्कार गर्ने पुरुष, हत्या गर्ने पनि पुरुष, हत्यारालाई संरक्षण गर्नेहरू पनि पुरुष, घटनाको प्रमाण नष्ट गर्ने पनि पुरुष भएको अवस्था छ । यस्तो अवस्थाबीच अपराधी पत्ता नलागेको भन्दै र नक्कली अपराधी खडा गर्दै घटनालाई रहस्यमय बनाउनेहरू पनि पुरुष नै छन् । यो घटनाले पनि पुरुषहरूलाई प्रशिक्षण आवश्यक छ भन्ने पुष्टि गर्दछ । नेपाल प्रहरीको गत वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि नेपालमा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना पाइएका छन् । जुन आव २०७२/७३ ले भन्दा २ हजार २ सय ३१ ले बढी हो । आव २०७२÷७३ मा ९ हजार ३ सय ९८ वटा घरेलु हिंसाका घटना घटेका थिए । यस्तै आव २०७१÷७२ मा ८ हजार २ सय ६८ वटा घरेलु हिंसाका घटना घटेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीको तथ्याङ्कअनुसार आव २०७३/७४ मा १ हजार १ सय ३१ वटा बलात्कारका घटना घटेका थिए । आव २०७२/७३ मा १ हजार ८९ वटा र आव २०७१/७२ मा ९ सय ८१ वटा घटना घटेका थिए । यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७३/७४ मा ५ सय ३६, आव २०७२/७३ मा ४ सय ५२ र २०७१/७२ मा ५ सय ६२ वटा घटना घटेका थिए । आव २०७३/७४ मा मानव बेचबिखनमा २ सय २७, आव २०७२/७३ मा २ सय १२ र २०७१/७२ मा १ सय ८१ वटा उजुरी परेको नेपाल प्रहरीले जनाएको थियो । त्यसैगरी महिला हिंसाकै प्रकृतिका घटना आ.व २०७३/७४, २०७२/७३ र २०७१/७२ मा क्रमशः २४, २८ र ४३ वटा बोक्सीको आरोपका घटनाहरू दर्ता भएका थिए ।
यस्तै आव २०७३/७४ मा बहुविवाहमा ४ सय ६४, आव २०७२/७३ मा ४ सय ६३ र २०७१/७२ मा ५ सय १८ वटा उजुरी परेको प्रहरीको तथ्यांक छ । त्यस्त आव २०७३/७४ मा २६ वटा बालविवाहका घटना घटेका दर्ता भएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा छ भने २०७२/७३ र २०७१/७२ मा क्रमश २० र २३ वटा घटना दर्ता भएको जनाइएको छ । त्यस्तै २०७३/७४, २०७२/७३ र २०७१/७२ मा क्रमशः २१, २२ र १७ वटा गर्भपतनका घटनाहरू दर्ता भएको प्रहरीले जनाएको छ । वर्ष ०७४/७५ को तथ्यांक प्रहरीले कसरी राखेको होला ? यो वर्ष झन कति कहालीलाग्दो विवरण आउला ? अनुमान गर्न सकिन्छ ।
तथ्यांकहरूलाई हेर्दै गर्दा नेपालमा वर्षेनि महिला हिंसाका घटनाहरूमा बढोत्तरी भएका छन् । महिला हिंसा रोक्नका लागि अभियान सञ्चालन गरेर मात्र हुँदैन भन्ने तथ्य घटनाहरूको बढोत्तरीले पनि पुष्टि गर्दछ । अभियानको प्रभावकारितामाथि विचार गर्न र हिंसा रोक्ने शैली परिवर्तन गर्न आवश्यक छ । [email protected] जनधारणा साप्ताहिक


















