गौतमको पक्षमा रावलको समर्थन

283

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गर्ने क्रम जारी छ ।

मंगलबारको बैठकमा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । आफ्नो धारणा राख्ने क्रममा नेकपाका नेता तथा स्थायी समिति सदस्य भीम रावलले १४ पृष्ठ लामो लिखित धारणा प्रस्तुत गरेका छन् ।

 उनको सो लिखित धारणामा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार पेश गरेको ‘२२ पन्ने’ राजनीतिक प्रतिवेदनको कडा आलोचना गरेका छन् ।

रावलले दस्तावेजको शुरूकै बुँदामा कार्यसूची बिना एकैपटक राजनीतिक प्रतिवेदनबाट बैठक आरम्भ गरेको भन्दै आपत्ति जनाएका छन् । दस्तावेजमा उल्लेख गरिएको छ – ‘राजनीतिक प्रतिवेदन समुचित र विस्तृत कार्यक्रम होइन, विश्लेषण, वैचारिक र नीतिगत मार्ग दर्शनमात्रै हो ।’

रावलले पेश गरेको दोस्रो पृष्ठमा रहिरहेको महासचिवलाई हटाएर विष्णु पौडेललाई कहाँबाट महासचिव बनाउनु भो भनेर नेतृत्वसँग प्रश्न गरेका छन् ।

‘एकीकरण पश्चात नयाँ बन्ने पार्टीमा दुईजना अध्यक्षको व्यवस्था रहने निर्णय भएको थियो । उक्त निर्णयमा तत्कालीन नेकपा ९माओवादी केन्द्र० सँग समेत सहमति रहेको जानकारी गराइएको थियो । तर, पछि मनोमानी किसिमले सचिवालयको गठन गरिएको विषयमा प्रश्न उठाएका छन् ।

सरकार सञ्चालनमा दलाल पूँजीवादीहरुको प्रभाव व्यापक रुपमा रहेको भन्ने चर्चालाई विभिन्न नियुक्तिहरुले प्रष्ट पारेको जनाउँदै रावलले सरकारले हालसम्म गरेका राजनीतिक नियुक्ति तथा ठूला ठेक्कापट्टा कसलाई दिइयो भन्ने सूची बैठकमा पेश गर्नुपर्ने माग समेत गरेका छन् ।

निर्वाचनमा जसकाविरुद्व चुनाव लडेको थियो त्यही मध्येको एक दललाई दुई मन्त्रालय र तीन मन्त्री दिएर सरकारमा ल्याउनुपर्ने आवश्यकता किन पर्यो भन्दै रावलले आपत्ति जनाएका छन् ।

चिनियाँ कम्पनीले बनाउने भनिएको पश्चिम सेती जलविद्युत आयोजना सम्झौताबारे कुनै निर्णय नहुँदै अर्थमन्त्रीले बजेट भाषणमार्फत नेपाल सरकार आफैं उक्त आयोजना बनाउने घोषणा गरेको रावलले पेश गरेको दस्तावेजमा भनिएको छ।

‘आयोजनाबारे अध्यक्षद्वय र प्रधानमन्त्रीसँग त्यसैबेला जिज्ञासा राख्दा अर्थमन्त्रीले मनपरी ढंगले उक्त घोषणा गरेको र त्यसको कारण प्रधानमन्त्रीको चीन भ्रमणमा समेत असर परेको जवाफ पाएको थिएँ,’ उनले भनेका छन्, ‘यसो हो भने अर्थमन्त्रीलाई के कारबाही भयो त ?’

रावलले पेश गरेको दस्तावेजको अन्तिममा गौतमले बुझाएको अधिकांश कुराहरु मननीय रहेको जनाउँदै ‘गौतमद्वारा प्रस्तुत कुराहरुमा ध्यान दिई सम्बोधन गरियोस्,’ दस्तावेजमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here