विभिन्न खोलभित्रका कम्युनिष्टका भ्रम–आतंकको विरुद्ध

189

-हुकुमबहादुर सिंह

नेपालमा अहिले आफूलाई कम्युनिष्ट भन्नेहरूको नेतृत्वमा सरकार छ । तर उनीहरू आफूलाई मात्रै माक्र्सवादी–लेनिनवादी हौ भन्ने गर्दछन् तर उनीहरूको लागि नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त माक्र्सवादी–लेनिनवादी होइन मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)हो भनेर भनिरहेका छन् । के स्पष्ट हो भने मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) भनेको ख्रुश्चेभको संशोधनवादी सिद्धान्त हो र ख्रुश्चेभको संशोधनवादी सिद्धान्त मान्नेहरू माक्र्सवादविरोधी हुन् कम्युनिष्ट होइनन् । त्यसकारण अहिलेको यो सरकार पनि कम्युनिष्ट सरकार होइन । बरु कम्युनिष्टलाई नेपालमा जनताको नजरमा बदनाम गराउनका लागि गठित सरकार हो । तर उनीहरूले पार्टीको नामसित कम्युनिष्ट पदावली जोडेका छन् तर सँगसँगै साम्राज्यवाद र विस्तारवादका अगाडि आत्मसमर्पण गरेर संसदीय राजनीतिको अभ्यास गरिरहेका छन् । एकातिर यस्ता कम्युनिष्टको सरकार छ भने अर्कोतिर आफ्नो पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भन्ने र बलप्रयोगको आवश्यकताबारे जोड पनि दिने कम्युनिष्ट पनि छन् । यिनीहरूले पनि जनतामा क्रान्तिकारी कम्युनिष्ट यिनै हुन् भन्नेछ ।

पछिल्लाका पनि सैद्धान्तिक हिसाबले काफी विचलनहरू छन् । प्रथम यसले उत्तर साम्राज्यवाद अर्थात साम्राज्यवादको अन्त्य भयो अब विश्वमा साम्राज्यवादको अस्तित्व छैन भनेर साम्राज्यवादलाई क्रान्तिको निशानाबाट ओझेलमा पार्ने साम्राज्यवादपरस्त चिन्तन राख्ने काम गरेको छ । जब साम्राज्यवादको अस्तित्व छैन भन्छ भने त्यसले अन्तर्राष्ट्रिय स्तरमा प्रधानअन्तरविरोधको वारेमा गलत व्याख्यामा पु¥याउ“छ । साथै राष्ट्रिय राजनीतिमा पनि उनीहरूको जोड नेपाली समाजमा परिवर्तन आयो र परिणाम अन्तरविरोध पनि फेरिए भन्दै मालेमाका आधारभूत मान्यता र नेपाली क्रान्तिको आधारभूत सिद्धान्त र दिशाबाट विमुख भएर नेपाली जनतालाई भ्रम दिने र कार्यकर्तालाई गलत मार्गतर्फ हिंडाउने अनेकौ प्रयास पनि भएका छन् । मालेमा र वैज्ञानिक समाजवादको चर्को कुरा गर्ने तर व्यवहारमा यसका आधारभूत मान्यताहरूको विरोध गर्नेहरू सारताः वाम खोलभित्रका दक्षिणपन्थीहरू नै हुन् । नेपाली जनता अहिले कम्युनिष्ट नामका दलाल पु“जीपतिवर्गको हितमा काम गर्नेहरूको सरकारको आतंकका साथै वाम खोलभित्रका दक्षिणपन्थीहरूको भ्रम आतंक दुवैको सामना गर्नु परेको स्थिति छ ।

नामधारी कम्युनिष्ट सरकारका विरुद्ध लड्ने भनेको सारतः साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्नु हो । जबसम्म हामीले वर्तमान विश्वको अन्तरविरोध र नेपाली समाजको वर्गविश्लेषण र क्रान्तिको चरित्रबारे सही किसिमले जानकारी राख्दैनौ, तबसम्म हाम्रो क्रान्तिको यात्रा रहस्यवादीहरूको जस्तै दिशाहीन र लक्ष्यहीन हुन जान्छ । यो भनेको आजको साम्राज्यवादको सही चरित्र के हो र नेपालीक्रान्तिको आधारभूत सिद्धान्त, क्रान्तिको बाटो र त्यसको चालक शक्तिका सम्बन्धमा सही जानकारीबिना कसरी क्रान्तिको मार्ग सही हुन्छ । वर्तमानमा साम्राज्यवादको अन्त्य भयो भन्नु कि त जानाजानी क्रान्तिलाई साम्राज्यवादको विरुद्धको निशानाबाट मुण्टो फर्काउनु हो वा साम्राज्यवादको वारेमा सतही जानकारी हो । अहिलेको नेपाली जनवादी क्रान्तिले यस्ता भ्रमवादीहरूसित पनि निर्मम संघर्ष गर्नुपरेको छ । के चाहीं सही हो भने अन्तरसाम्राज्यवादी अन्तरविरोध नयाँ किसिमले विकसित भएको छ भन्दैमा साम्राज्यवादको सम्बन्धमा लेनिनले अगाडि सारेको धारणा अहिले पनि सही छैन भन्नु भ्रम शिवाय केही होइन । माक्र्सवाद–लेनिनवाद–माओवादको आवरणमा तर्क गर्ने र वैज्ञानिक समाजवाद भन्दै वैज्ञानिक विचारभन्दा बाहिर गएर ‘उत्तर साम्राज्यवाद’को पक्षमा वकालत गर्नेहरू आखिरमा साम्राज्यवादपरस्तै हुन् र त्यसका पछाडि दुइटा पक्ष छन्–प्रथम कि त अध्ययन र बुझाइको अभावका कारण आजको साम्राज्यवादका बारेमा सही बुझाइ राख्न सकेको अवस्था छैन र अन्योलता छ कि त प्रचण्डको र बाबुरामको जस्तै राजनीतिक इमान्दारिताको अभाव छ । जे भएता पनि क्रान्तिप्रतिको इमान्दारिता रहेमा सबैलाई सुधारको सम्भावना रहन्छ र विप्लवबारे पनि सत्य हो ।

सारांशमा सबै इमानदार कम्युनिष्टका लागि अथवा आफूलाई माक्र्सवादी–लेनिनवादी–माओवादी भन्नेहरूका लागि निम्न प्रश्नहरूले महत्व राख्दछन् । प्रथम आजको सर्वहारा वर्गीय विश्वक्रान्तिको मार्ग के हो ? वर्तमानमा साम्राज्यवादको चरित्र कस्तो छ ? नेपालमा अब क्रान्तिको तयारीको आवश्यकता के छ भन्नेबारे बहसको आवश्यकता छ र सही उत्तर खोज्न जररी छ । साथै एउटा माक्र्सवादी–लेनिनवादी पार्टीका लागि क्रान्तिको आधारभूत मान्यता के हो ? आदिले महत्व राख्दछन् । यिनै प्रश्नहरूको सही खोजले नेपालमा देखिएको दलाल पु“जीपतिवर्गको हितमा काम गर्ने कम्युनिष्टहरूको सरकारको आतंकका साथै वामखोलभित्रका दक्षिणपन्थीहरूको भ्रम आतंक दुवैको सामना गर्न समभव छ । hukumsingh2012@yahoo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here