मेलम्चीको काम अब कसले गर्ने ? स्वदेशी ठेकेदारलाई दिन विज्ञको सुझाव

223

काठमाडौं / मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरूले सुझाएका छन् । जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरूको छ ।

सीएमसी अधिकारीले ठेक्का तोडेको पत्र बुझाउँदै काम गर्न अस्वीकार गरेको हो । सीएमसी अधिकारीले कम्पनी आर्थिक रूपमा टाट पल्टेकाले बाँकी काम अघि बढाउन नसकिने अडान राखेका थिए ।

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने जनाए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’

सुरुङ खन्ने काम सकिएकाले हेडवर्कस्, भेन्टिलेसनलगायत काम स्वदेशी ठेकेदारले गर्न सक्ने उल्लेख गर्दै उनले मन्त्रिपरिषदबाट तत्काल निर्णय गरेर आयोजनासम्बन्धी अन्योल अन्त्य गर्नुपर्ने जनाए । आयोजना लम्बिए राजधानीवासीमा निराशा छाउने उनको भनाइ छ । ‘जति ढिला गर्‍यो, हामीलाई नै घाटा हुन्छ, चाँडो गर्नुपर्छ,’ उनले भने, ‘पाइप पुर्ने र धारा जडानलगायत काम भइसकेका छन् ।’

आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेक्काबारे नयाँ प्रक्रिया अपनाउँदा करिब ६ महिना लाग्ने भएकाले मन्त्रिपरिषद्ले तत्काल टुंग्याउनुपर्ने सुझाव दिए । ‘नयाँ प्रक्रिया अपनाउँदा शून्यबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशी ठेकेदारले काम गर्न सक्छन्, त्यसकारण छोटो विधि र प्रक्रिया अपनाउनुपर्छ ।’ मेलम्ची लम्बिए याङ्ग्री र लार्केबाट थप दैनिक १७/१७ करोड लिटर पानी ल्याउनसमेत ढिलाइ हुने भन्दै उनले निर्णय लिन सरकारले ढिलाइ गर्न नहुने जनाए ।

इटालियन कम्पनी (सीएमसी) ले आर्थिक रूपमा टाट पल्टेको घोषणा गरिसकेकाले उसले गरेका सबै कामको मूल्यांकन गरेर बाँकी काम अघि बढाउनुपर्ने उनले जनाए । ‘टाट पल्टेको आफैंले घोषणा गरेकै हो भने किन आयोजना निर्माणमा ढिलाइ गर्ने ?’ उनले भने, ‘विकल्प खोज्दा हुन्छ ।’

आयोजनाका अर्का पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले स्वदेशी ठेकेदारलाई प्याकेजमा काम दिनुपर्ने जनाए । ‘स्वदेशी कम्पनीसँग पनि विज्ञता छ, किन ढिलाइ गर्ने रु आंखिर ठूलो काम पनि छैन,’ उनले भने ।

सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनभित्र काठमाडौंमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ । आयोजना पूर्वकार्यकारी निर्देशक हरि शर्माले एक महिनाभित्र सीएमसीले गरेको कामको मूल्यांकन गरेर अन्योल अन्त्य गर्नुपर्ने जनाए । ‘स्वतन्त्र मूल्यांकनकर्ता, एडीबीका प्रतिनिधि, सरकार र ठेकेदार पक्षलाई राखेर मूल्यांकन गर्नुपर्छ,’ उनले भने, ‘त्यसो गर्दा चाँडो हुन्छ ।’ अब सीएमसीलाई कुनैठेक्का दिन नहुने उनले जनाए । ‘धोका दिएकै हो भने किन अरू ठेक्का दिने ?’ उनले भने ।

सीएमसीले ९५ प्रतिशत रकम बुझिसकेको छ । ग्रेचोलगायतले सिफारिस गरिएको ३५ करोड र आयोजनाबाट पाउन बाँकी रकमसमेत काम सक्न पर्याप्त नहुने र कम्पनीले थप रकम दिन नसक्ने भन्दै ठेक्का तोड्न बाध्य भएको उल्लेख गरेका थिए । सीएमसीले प्राविधिक र कामदारको तलबभत्ता र सञ्चयकोषबापतको एक अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here