परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आफ्नो अमेरिका भ्रमणका बेला कुनै किसिमका सम्झौता वा परियोजनामा हस्ताक्षर नभएको बताएका छन् । आइतबार आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भ्रमणका बेला नेपालको शान्ति प्रकृया, पछिल्लो राजनीतिक विकासक्रम र वर्तमान सरकारका विकास प्राथमिकताहरु सम्बन्धमा नेपालको धारणा राखेको बताएका छन् । नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै नेपालमा मार्चको अन्तिम सातामा आयोजना हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिएको ज्ञवालीले जानकारी दिए । त्यसैगरी व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियतका लागि हार्दिक धन्यवाद दिंदै नेपाललाई प्रदान गरेको भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका केही थप वस्तुहरु (पुरुष र महिलाका पोशाकहरु) समावेश गरिदिन अनुरोध गरेको बताए । भेटमा पोम्पेओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्नुका साथै नेपालको विकासमा सहयोग गर्न आफू तत्पर रहेको बताएको ज्ञवालीले जानकारी दिए ।
बैठकका क्रममा द्विपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विविध विषयहरुमा समेत छलफल भएको उनले जानकारी दिए । शान्ति सेनामार्फत नेपालले विश्व शान्तिमा पुर्याएको योगदान तथा कोरियाली प्रायदीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निशस्त्रीकरणको प्रयासका बारेमा छलफल भएको ज्ञवालीले जानकारी दिए ।

















