काठमाडौं / पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन एवार्डद्वारा पुरस्कृत हुनुभएको छ ।
शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले रामबहादुर न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम् मास्टर चिङ्हाईले पठाउनु भएको तीस हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीहरूको तर्फबाट नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मिरा खनालले हस्तान्तरण गर्नुभएको थियो ।
रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपतिक्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आउनु भएको छ ।
छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् ।
संविधानमा राष्ट्रिय जनावर उल्लेख भएपनिराज्यकै संयन्त्रको मिलेमतोमा गाईगोरु कटानीको लागि विदेशतर्फ तस्करी हुने गरेको देखिइरहेको छ । लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले समेत पुकार गरिने गोवंशलाई सिध्याउन पाए हाईसुख हुन्थ्यो भन्ने मनोविज्ञान राज्यको पनि रहेको बुझिन्छ । नेपाल सरकार र नेपाली नागरिकको यस्तो संकिर्ण एवं दरिद्री मानसिकताको स्थिति भइरहेको अवस्थामा विदेशदेखि यहाँका गोवंशको संरक्षणको लागि यसरी सहयोग आउनुले नेपाल सरकार र सम्बन्धित नागरिकको लागि ठूलो जवाफ भने दिएको छ ।
सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरुले आफ्नो शिष्य ग्रहण गर्ने जोकोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण साकाहारी आहार एवं सात्विक जीवन यापन गर्न मार्गदर्शन गर्नु हुन्छ । मूलतः उहाँ ताइवानको भए पनि विश्वका विभिन्न स्थानमा रहेर ध्यान साधना गर्ने र गराउने गर्नु हुन्छ । मास्टर चिङ्हाईले यो एवार्ड एवं पुरस्कार कसैको सिफारिसमा नभएर आफ्नो ध्यानदृष्टिबाट तय गर्ने गर्नु हुन्छ ।
२०७२ सालको भूकम्पलगायतका दैवी विपत्ति आदिमा मास्टर चिङ्हाईले उल्लेखनीय सहयोग गर्दै आउनु भएको छ । यसै गरी वागिश्वरी गौशाला देवघाट चितवन, रामजानकी गौशाला कोहलपुरलाई पनि यहाँका आफ्ना अनुयायीमार्फत आर्थिक सहयोग गर्नु भएको छ । उहाँले गर्ने सहयोग कसैसँग उठाएर नभएर आफै आर्जन गरेको रकमबाट गर्नुहुन्छ ।
सुप्रिम मास्टर इन्टरनेशनल एशोसियसनले प्रदान गर्ने साइनिङ्ग वल्र्ड कम्पासन एवार्ड नेपालीको लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम संजेल र दोस्रो एवार्ड माइती नेपालकी अनुराधा कोईरालाले प्राप्त गर्नु भएको थियो ।


















