काठमाडौं / त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ ।ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए ।
पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नेछन् । समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका छन् ।
समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिने भएको छ ।


















