-हुकुमबहादुर सिंह
नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक जो यही पौष १२ गतेदेखि १७ गतेसम्म बुटवलको ढवाहामा बसेको थियो, त्यसका निर्णणहरूलाई लिएर पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइहरू बाहिर ल्याएको छ । माओवादी आन्दोलनभित्रका र बाहिरकाहरूको पनि एउटा प्रश्न– चन्द र विश्वकर्मा नेतृत्वको नेकपासित पार्टी एकताबारे के निर्णय भयो ? भनेर सोध्ने गरेका छन् । यो सही हो नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका अगाडिका बैठकले मसाल र नेकपा पार्टीहरूसहित अन्य कम्युनिस्ट पार्टी तथा समूहहरूसित केही निश्चित आधारमा एकताका लागि बहसलाई अगाडि बढाउने भनेर ५ वटा आधारहरू निर्धारण गरेको थियो । ती आधारलाई टेकेर पार्टीले एकताका लागि काफी पहलकदमी लियो । परिणाम हाम्रो पार्टीभित्रै चन्द नेतृत्वको नेकपाप्रति केही नरमपना देखिन्थ्यो तर यो बैठकसम्म आइपुग्दा र उनीहरूमा देखिदै गएको राजनीतिक, सैद्धान्तिक, वैचारिक र कार्यदिशामा देखिएको विचलन र उक्त पार्टीको नेतृत्वमा देखिएको व्यक्तिवादी अराजकतावादी प्रवृति र व्यवहारले यो स्पष्ट पार्दै गयो कि चन्द र विश्वकर्मा नेतृत्वको नेकपा माओवादप्रति, सर्वहारावर्गप्रति, नयाँ जनवादी क्रान्तिप्रति इमान्दार छैन र उत्तर साम्राज्यवादलाई अगाडि ल्याएर साम्राज्यवादको अस्तित्व नभएको भन्दै साम्राज्यवादप्रतिको संघर्षलाई कमजोर पार्न चाहन्छ ।
नयाँ जनवादी क्रान्ति पूरा भएको र अबको नेपाली क्रान्ति समाजवादी क्रान्ति हो भन्दै ओली र दाहालसित कार्यदिशागत रूपमा नजिकिन गइरहेको छ । तर उसले आफूलाई क्रान्तिकारी भएको भ्रम दिन अनेकौ झुठहरूको साहारा लिएको छ । कतिसम्म भने नेकपा (क्रान्तिकारी माओवादी) बाट फुटेर गएको दिनको उत्सव मनाउने भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.किरणलाई प्रमुख अतिथिका रूपमा आउने भनेर आम कार्यकर्ता र मासलाई भ्रममा राख्ने कामसमेत गरेको पाइयो । त्यसैगरी अर्कोतिर नेकपा(मसाल) वर्तमान संविधानलाई निकै ठूलो उपलब्धि ठानेको छ र त्यसलाई स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छ । रणनीतिमा नयाँ जनवादी क्रान्ति भन्ने तर कार्यनीतिमा लोकतान्त्रिक गणतन्त्रको बाटोलाई अवलम्वन गर्ने । यसरी यो पार्टी एउटा गम्भीर प्रकारको दक्षिणपन्थी संशोधनवादी विचलनमा फस्दै गएको छ । यो पार्टी अहिले मिलेराँवादको दलदलमा नराम्ररी भासिदै गएको छ । आफूलाई क्रान्तिकारी कम्युनिस्ट भन्ने तर संसद र सरकारको मन्त्रीमण्डलमा भाग पाएसम्म मिलेराँवादको सिद्धान्तलाई नछाडने । एकातिर माके र एमालेको एकतालाई सकारात्मक बताउने, त्यसकै सरकारमा सहभागी हुने अर्कोतिर त्यसलाई दक्षिणपन्थी दिशा लिएको र कम्युनिष्ट एकीकरणका रूपमा लिन नसकिने भनेर पनि भन्ने । यसरी यो पार्टी पनि पूरै द्वैतवादी चिन्तनबाट ग्रस्त देखिन्छ ।
यसरी नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समतिको यो वैठकले चन्द नेतृत्वको नेकपा र सिंहको नेतृत्वको नेकपा(मसाल) सितको एकतालाई खारेज गर्दै समग्रतामा भने एकताका कुरालाई कायमै राखी अहिले ध्रुवीकरणलाई प्रधान बनाएर आवश्यकताअनुसार संयुक्त मोर्चा र कार्यगत एकता गरी संघर्ष उठान गर्ने निर्णय गरेको छ । यसरी पार्टीले यो बैठकमार्फत सिंह र चनदको पर्टिीसितको एकता पहललाई खारेज गर्ने निर्णय गर्दै आफ्नै स्वतन्त्र पहलमा केन्द्रीय समितिले एक मतले फागुन १ को जनयुद्ध दिवसलाई रातो मार्चपास, फागुन ७ देखि २१ सम्म मेची–महाकाली अभियान, जसको उद्घाटन फागुन ७ गते काठमाडौं, पोखरा, झापा र कञ्चनपुरबाट एक साथ गर्ने, चैत्र २४ गते देजमो नेतृत्वमा विशाल आमसभाको आयोजना गर्ने आदि संघर्षका कार्यक्रमहरू निश्चित गरेको छ । केन्द्रीय समिति के मा स्पष्ट छ भने तत्कालीन रूपमा चल्ने यस्ता आन्दोलनहरू नया“ जनवादी क्रान्तिका लागि आधार तयार पार्ने माध्यमहरू नै हुन् । त्यसैले पार्टीले आन्दोलनको रणनीतिक पक्षका रूपमा नेपालको संविधान २०७२ को खारेजीको लागि र जनगणतान्त्रिक संविधानको निर्माणको लागि संघर्षलाई केन्द्रित गर्नेछ । जनगणतान्त्रिक संविधानअनुसार संघ र प्रदेशहरूको स्थापनाका लागि जोड दिनेछ । जसले नेपालमा विद्यमान वर्गीय, क्षेत्रीय, जातिय तथा लैङ्गिक उत्पीडनको अन्त्य गरी नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरोस् । एकाधिकार दलाल पुँजीपति तथा नोकरशाही वर्गको वर्तमान राज्यसत्तामाथि मजदुरवर्ग, गरिब तथा मध्यम किसान, सुकुम्वासी, राष्ट्रिय पुँजीपतिवर्ग, दलित, महिला, अल्पसंख्यक मुस्लिम तथा अन्य क्षेत्रीय, जातीय तथा लैङ्गिक उत्पीडनमा परिरहेकाहरूको शासनसत्ता स्थापना गरियोस् । उक्त उल्लेखित रणनीतिक पक्षको उपेक्षा गर्दा आन्दोलनले सुधारवादी वा संसदीयरूप लिने सम्भावना रहन्छ । जो गल्ती वर्तमानमा नेकपा(मसाल)ले गरिरहेको छ । त्यसको अर्थ तत्कालीन रूपमा चल्ने आन्दोलनको उपेक्षा गर्नु पर्छ भन्ने होइन । माक्र्सवादी–लेनिनवादी–माओवादीहरूले तत्कालीन आन्दोलनलाई सही र सशक्त रूपले चलाएर नै आन्दोलनको रणनीतिक उद्देश्य प्राप्त गर्न सकिन्छ । -singhhukum683@gmail.com


















