पोखरा /पोखरा रंगशालामा आधुनिक फुटबल मैदान बनाउने भएको छ । पोखरा रंगशालाको साविकको फुटबल मैदानमा १ अर्ब २८ करोडको लागतमा आधुनिक स्टेडियम (रंगशाला) बन्ने पक्का भएको हो । रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी जेभीएमए र नेपाली कम्पनी जिएसआईसँग गत पुस १३ गते सम्झौता भएको बमोजिम ६ महिनाभित्रमा फुटवल स्टेडियम बनिसक्नुपर्ने छ । यसअघि पोखरा रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । भने पछिल्लोपटक रंगशालामा निर्माण गरिने पूर्वाधार कम भएपछि बजेट घटेको बताइएको छ ।
यसअघि नाइट लाइट प्रयोग गरेर राति पनि खेल्न मिल्नेगरी बनाउन लागिएको थियो भने हाल लाइट नराख्ने गरी स्टेडियम बनाउने सम्झौता भएको छ । पोखरा विमानस्थलले राति लाइट बाल्दा जहाज उडानमा समस्या आउने भन्दै ध्यानाकर्षण गराएपछि लाइट नराखी स्टेडियम बनाउन लागिएको हो ।
पोखरामा ठेकेदार कम्पनी
सम्झौतासँगै जेभीएमए र जिएसआई कम्पनीका प्रतिनिधि प्राविधिक टोलीसहित फुटवल स्टेडियमको सर्भे गर्न पोखरा पुगेको छ । टोलीमा राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख अरुण उपाध्याय, जिएसआई कम्पनीका प्रोजेक्ट म्यानेजरद्वय हरिबाबु न्यौपाने जेभीएमए कम्पनीका प्रोजेक्ट म्यानेजर अवनिश अग्रवाल र दीपक बराल तथा प्राविधिक ग्रेट स्पोर्टस् इन्फ्राका प्रमुख सुशान्त परदेशीलगायत छन् ।
टोलीले सोमबार पोखरा रंगशाला पुगेर फुटबल स्टेडियम बन्ने स्थल अवलोकन ग¥यो । टोलीले २१ दिनमा फुटवल स्टेडियमको सर्भे र डिजाइन दुबै गरिसक्नेछ । टोलीले पहिलो ७ दिन रंगशालाको माटोको स्थिति, पूर्वाधार कसरी बनाउने रु के गर्दा उपयुक्त हुन्छ भन्नेलगायतको सर्भे गर्ने भएको छ । त्यसपछि थप १४ दिन स्टेडियमको डिजाइन तयार पार्ने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख अरुण उपाध्यायले जानकारी दिए । डिजाइन तयार भइसकेपछि रंगशाला निर्माण शुरु हुने उनले बताएका छन्।
यो रंगशाला १६ हजार ५ सय दर्शक क्षमताको हुनेछ । प्रारम्भिक रुपमा १६ हजार ५ सय दर्शक बस्न मिल्नेगरी बनाउने भनिए पनि त्यसमा दश प्रतिशत तलमाथि हुनसक्ने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख उपाध्यायले बताए । उनका अनुसार भौगोलिक अवस्थाका आधारमा दर्शक प्याराफिटको क्षमता तलमाथि हुनेछ । दर्शक प्याराफिट सी आकार अर्थात क्लोज प्याराफिट हुने भएको छ । भीआईपी प्याराफिट भन्दा उत्तर र दक्षिणपट्टीसहित पूर्वीय भागमा दर्शक प्याराफिट बनाइने भएको हो ।
स्टेडियमभित्र २५ जना क्षमताको अति विशिष्ट पाहुना बस्ने भीभीआईपी प्याराफिट बनाइनेछ । भीभीआईपी प्याराफिटसँगै जोडिएको अर्को अतिथि बस्ने भीआईपी प्याराफिट बनाइने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख उपाध्यायले जानकारी दिएका छन् । उहाँका अनुसार भीआईपी प्याराफिट नजिकै मिडिया सेन्टर बन्नेछ । त्यस्तै खेलाडीका लागि प्लेयर बक्स, चेञ्जिङ रुम २÷२ वटा बन्ने उनले बताए । एउटा फर्स्ट एड बक्ससमेत बनाइने भनाइ रहेको छ ।
स्टेडियम भित्र फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइंको फुटबल मैदान बनाइने छ । मैदानमा ४ सय मिटर गोलाई भएको एथ्लेटिक ट्रयाकसमेत बनाइने छ । सिन्थेटिकले बनाइने एथ्लेटिक ट्रयाक एथ्लेटिकको अन्र्तराष्ट्रिय संस्था आइएएएफको मापदण्डअनुसार हुने जेभिएमए कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले जानकारी दिए । स्टेडियम फ्रेञ्च टेक्नोलोजीमा बन्ने भारतीय कम्पनी जीएसआइका प्रोजेक्ट म्यानेजर अवनिश अग्रवालले जानकारी दिएका थिए । उनका अनुसार फ्रान्समा निर्मित सामान यहाँ ल्याएर जोड्ने काम मात्र हुनेछ ।
निरन्तरको प्रयासपछि फुटबल मैदान बन्ने पक्का भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाउनु भयो । तेह्रौं सागका लागि रंगशाला तयार भइसक्ने दाबी गर्नु भयो । ‘सबैको साथ र सहयोग मिल्यो भने ६ महिनामै रंगशाला तयार भइसक्छ र तेह्रौं सागको महिला फुटवल खेल यहीँ हुन्छ ।’
स्टेडियम निर्माणको सम्झौतालगत्तै प्राविधिक टोली पोखरा आएपछि निक्कै हौसिएका श्रेष्ठले रंगशाला अब जुनसुकै हालतमा बन्ने ठोकुवा गर्नु भयो । तैपनि जिएसआई कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले भने ६ महिनामा स्टेडियम बनिसक्न कठीन भएको छ । यसै वर्ष ५३ करोडमात्र निकासा भएको र बाँकी रकम अर्को आर्थिक वर्षमा निकासा हुने भएकाले स्टेडियमको निर्माण सम्पन्न हुने समय लम्बिन सक्ने जानकारी दिनु भयो ।

















