माओवादीले राजनीतिक चेतनाको विकास गरेकै हो

207

-त्रिलोक अधिकारी

देशले जहानियाँ राणा शासनको थिचोमिचो खेपिरहेको बेलामा पनि शिक्षाको आवश्यकता महसुस भएको देखिन्छ । जसको कारण राणाहरुले आफूहरुले मात्रै पढ्नका लागि भएपनि पाठशालाहरुको स्थापना गरेका हुन् । जंगबहादुर राणाले त झनै अंग्रेजी भाषामा समेत दख्खल राख्नु पर्छ भन्ने मान्यता राखेका थिए । विभिन्न कालखण्डहरु परिवर्तन हुने क्रममा राणाहरु पनि केही परिमार्जन समेत भएका छन् । चन्द्र शमसेर मात्र होइन देव शमसेरसम्म आइपुग्ने बेला नेपाली शिक्षाको क्षेत्रमा ज्योति बल्न सकेको थिएन । तर नेपालमा प्रजातन्त्रको स्थापना भएसँगै नेपाली समाजले शिक्षाको क्षेत्रमा केही उपलब्धि हासिल गर्ने अवसर प्राप्त गरेको हो ।

प्रजातान्त्रिक शासन पद्धतिको व्यवस्थासँगै देशमा बढेको शैक्षिक जागरणले राजनीतिक चेतनाको विकासको शुरुवात गराएको कुरा स्वीकार्नै पर्छ । राजनीतिक चेतनाको विकाससँगै जोडिएर आएको शिक्षाको विकासले नेपाली समाजलाई शिक्षा र प्रविधिको क्षेत्रमा आत्म निर्भर बनाउन अझै पनि सकेको छैन । तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको शुरुवात गरेपछि केही साँधुरा र अप्ठ्याराहरु आए । राजनीतिक शिक्षामा नेपाली समाजले धेरै जागरुक हुने अवसर प्राप्त गर्न सकेन । तर पनि एक पटक प्रजातन्त्रको स्वाद चाखिसकेको नेपाली समाजले पुनः प्रजातन्त्रका लागि जुन आन्दोलन ग¥यो त्यो पनि शिक्षाको उपज थियो । राजनीतिक रुपमा चेतनाको विकास भइसकेको अवस्थामा मात्र २०४६ सालको जनआन्दोलनको सुरुवाती भएको हो ।

सम्वत् २०५२ सालमा माओवादीले गरेको जनआन्दोलनसम्म आइपुग्दा नेपाली जनताको राजनीतिक चेतनाको स्तर यति धेरै माथि उठिसकेको भने थिएन । तत्कालिन माओवादीले जनचेतना फैलाएर तत्कालिन समयको सरकारले गरेका कार्यहरु केलाएर त्यसको विरुद्धमा जनता स्वयम् बोल्न सक्ने वातावरणको सिर्जना गर्नु पथ्र्यो । तर उसले त्यसो गर्न सकेन । त्यसो गर्न नसक्नुमा माओवादी आफैमा पनि राजनीतिक चेतनामा भएको कमी हो । किनकी यसमा राजनीतिक चेतनाले भरिपूर्ण दिमाग हुँदो हो त माओवादीले जबरजस्ती जनतालाई आफूसँग लगाउने थिएन होला । संगठन विस्तारको क्रममा आफू भन्दा फरक मत राख्नेहरुलाई ढाडमा टेकेर टाउकोमा हान्दै हाड भाँच्ने कार्य राजनीतिक चतनाको कमी हो ।

यदि माओवादीमा राजनीतिक चेतनाको विकास भइसकेको भए उसले आफ्ना योजना र नाराहरुबाटै जनतालाई प्रभावित बनाउन सक्नु पथ्र्यो । केही सिमित व्यक्तिहरुमा भएको राजनीतिक शिक्षालाई सर्वसाधारणसम्म पु¥याउन नसक्नु माओवादीको कमजोरी हो । त्यही कमजोरीको फाइदा उठाउँदै तत्कालिन समयमा विभिन्न कारणले सामाजिक रुपमा बहिष्कारमा परेकाहरु समेत माओवादीको संगठनमा एकतावद्ध भए र उनीहरुले गरेको कर्तुतहरु साम्य भए । तर पनि जब जब माओवादी जनयुद्ध उत्कर्षमा पुग्न लागेको थियो त्यो समयमा राज्य पक्षले पनि दमनको नीति अघि सा¥यो । जसले गर्दा माओवादीमा संलग्न भन्दा असंलग्नहरुले दुःख पाए । राज्यको कमजोरी त्यहीँ भयो । घाँस काट्न गएका छोरी चेलिहरु बलात्कृत भए । बजार गएको छोरो फर्किएन । जसले गर्दा नेपाली जनताको मानसपटलमा राज्य प्रति पनि बितृष्णा जाग्यो । त्यही समयमा राजाले गरेको राजनैतिक हस्तक्षेपका कारण राजनीतिक दलहरु एक भएर उभिने वातावरण बन्यो । जुन वातावरणको सिर्जना गर्नमा सबै भन्दा ठूलो श्रेय माओवादीलाई नै दिनु पर्छ । त्यहीबाट शुरु भयो राजनीतिक चेतनाको फैलावट ।

जब २०६२/०६३ मा दोस्रो जनआन्दोलनको नाम दिएर नेपाली जनतालाई राजनैतिक दलहरुले सडकमा ल्याए । त्यतिबेला माओवादीसहित अन्य सात राजनैतिक दलहरु एकै ठाउँमा थिए । उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारका लागि नभई राजनीतिक क्षेत्रमा स्वतन्त्रताका लागि यो आन्दोलन भएको प्रचारबाजी गरे । नेपाली जनता सदैव स्वतन्त्रता चाहने भएकोले पनि उनीहरु स्वस्फूर्त रुपमा सडकमा आएका हुन् । उनीहरुलाई सडकसम्म आउनका लागि राजनीतिक चेतनाको बिर्को खोलिदिने त माओवादी नै हो ।

नेपाली जनतालाई १९ दिने आन्दोलनमा हामफाल्न लगाएर गरिएको परिवर्तनले वर्तमानसम्म आइपुग्दा के उपलब्धि दियो त्यो दोस्रो पाटो हो । किनकी अहिले देशमा न माओवादी छ न माओवादीका नेताहरु नै छन् । माओवादी त केवल इतिहासका पानामा सिमित भइसकेको छ । तर पनि इतिहासलाई साँक्षी राखेर भन्ने हो भने जसरी गोर्खालीले नेपाल बचाए त्यसरी माओवादीले मान्छे मार्दै राजनीतिक चेतना फैलाए । यो आफैमा पर्याप्त छैन । देशलाई समृद्ध बनाउने कुरा गरिरहेको वर्तमान सरकारले जनतामा राजनीतिक चेतना भर्नका लागि योगदान दिन आवश्यक छ । यदि राजनीतिक चेतनाको स्तर माथि उठ्न सकेन भने कस्तो राजनेताको चयन गर्ने भन्ने कुराको अन्यौलताले जनता जहिले पनि दुःख पाइरहन्छन् ।

कुनै पनि देशको विकास हुनका लागि राजनीतिक चेतनाको खाँचो पर्दछ नै । हाम्रो देशमा पनि राजनीतिक चेतनाले भरिएको नेताहरुको बुद्धि हुँदो हो त हावाको बिजुली, भुपरिवेष्ठिट देशमा पानीजहाजका नाराहरु फलाकिने थिएनन् होला । तिहारको समयमा अर्काको देशमाबाट फूलका मालाहरु निर्यात गर्ने कृषि प्रधान देशले आफ्ना जनतालाई खान पुग्ने खाद्यन्न उत्पादन गर्नमा समस्या पर्ने थिएन होला । देशको सबै भन्दा उर्जावान शक्ति खाडिमा गएर रगतलाई पसिनाको माध्यमबाट बगाउनु पर्ने थिएन होला । लुम्बिनीको उचित संरक्षण र त्यसको विकासलाई राजनीतिक स्तरबाट सम्वद्र्धन गर्न सकेको भए भारतले नक्कली लुम्बिनी निर्माण गर्ने थिएन होला । कर्णालीका बहुमूल्य औषधबुटिहरु कौडीको भाउमा बेचेर करोडौको औषधी भित्र्याउनु पर्ने अवस्थाको सिर्जना राजनीतिक चेतनाको कमीको कारण भएको हो ।

राजनीतिक चेतनाको कमी भयो भने प्राविधिक चेतना आउने प्रश्नै भएन । प्राविधिक चेतनाको विकास बिना प्रविधिको विकास सम्भव छैन । जबसम्म प्रविधिको विकास हुँदैन तबसम्म विद्युतीय रेल, सुर्खेत – जुम्ला केवलकारका सपना वर्तमान प्रधानमन्त्रीले देख्ने मात्र हुन् । जनताले त्यसको उपयोग गर्नका लागि पुस्तौ पर्खनु पर्ने अवस्था छ । माओवादीले जनतामा जुन राजनीतिक चेतनाको विकास गरायो त्यसलाई आफूले समेत अनुशरण गर्न सकेन । त्यसकारण पनि सुरु हुन् सकेनन् नेपाली जनताका सुखका दिन । नेपाली जनताले सहज तरिकाले मोवाइल फोनको पहुँचमा पुग्ने वातावरणको सिर्जना गर्न नसकेका सरकारी संयन्त्रहरु डिजिटल प्रविधिले सुविधा सम्पन्न नेपाल निर्माणको कुरा गरिरहेका छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here