काठमाडौं / प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको जनाउनुभएको छ ।
काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको जनाउनुभयो । उहाँले भन्नुभयो, ‘भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम पत्रकारिता क्षेत्रले भाषामा ध्यान दिनुपर्छ ।’
काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यावसायिक बन्न नसके पनि तिनले स्थानीय समाचारलाई प्राथमिकता दिएका छन् ।


















