योग आसन मात्र होइन, अनुशासन पनि हो !

433

-अरुणा उप्रेती

आज माघ एक गते योग दिवस !

योग भनेको केही आसनमात्र होइन, अनुशासन पनि हो । योग भनेको त जीवन पद्धति हो । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । तर यसले सम्पूर्ण रोग र समस्या निको पार्न सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी योगलाई जीवनमा प्रयोग गरे राम्रो हुन्छ । योग गर्ने सबै मानिसलाई कुनै पनि रोग लाग्दैन भने पनि सम्पूर्ण सत्य होइन । कसैलाई क्षयरोग लाग्यो भने योगासन गरेर मात्र निको हुन सक्दैन ।

गर्भवती महिलाको बच्चा पेटमा उल्टो वा तेर्सो गरेर बसेको छ भने योगासन गरेर प्राकृतिक तरिकाले बच्चा जन्मिन सक्दैन । गर्भवती महिलाले गर्भलाई नकारात्मक असर नपर्नेगरी तर केही योगासन गरेर स्वास्थ्य राम्रो हुन्छ भन्नेचाहिँ हो । त्यसैले अमेरिकामा केहीले गर्भवती महिलालाई योगका केही सरल आसन गर्न सल्लाह दिन्छन् ।

कतिपय योगगुरुले के पनि भनेको सुनेकी छु भने गर्भवती महिलाले दिनदिनै योगासन गर्ने हो भने बच्चा तेर्सो बस्दैन । तर यो तर्कसँंग सहमत हुन सकिँदैन । गर्भावस्थामा कसैलाई कुन बेला र किन बच्चा तेर्सो वा उल्टो हुन्छ, कारण भन्न सकिँदैन । त्यसैले यस्तो अवस्थामा आमा र बच्चाको जीवन बचाउन शल्यक्रिया गरिन्छ, योगासन गरेर जीवन बचाउन सकिँदैन ।

योगासनमा गरिने केही प्रक्रिया जस्तो अनुलोम—विलोमले शरीरमा पर्याप्त अक्सिजन पुर्‍याउँछ, स्वस्थ रहन मद्दत गर्छ । तर अनुलोम—विलोम गरेर छारेरोग निको हुन्छ भन्नेचाहिँ विश्वास गर्नु हुँदैन । यस्तो भ्रममा परेर छारेरोगको औषधी खाइएन भने जीवनै जान सक्छ ।

आधुनिक उपचार गर्ने कतिपय चिकित्सकले ‘योगासन गरेर कुनै पनि समस्या निको हुँदैन, यो वाहियात हो’ भन्ने गरेका छन् भने त्यो पनि सम्पूर्ण सत्य होइन । नेपालमा कति मुटुरोग, मानसिक रोग, मधुमेह रोग विशेषज्ञ र मृगौला रोग विशेषज्ञले आफ्ना बिरामीलाई आधुनिक औषधीका साथै योग गर्न सल्लाह दिएको मलाई थाहा छ । योगासन गर्नेहरूले पनि विभिन्न किसिमका शारीरिक र मानसिक समस्या परेर आधुनिक औषधी प्रयोग गरी ठिक भएका घटना पनि पर्याप्त छन् । तर कतिपय योगगुरुले योगासन र अनुलोम—विलोम गरेपछि उनीहरूले खाइरहेका औषधी छाडिदिए पनि हुन्छ भन्ने गलत ज्ञान दिन्छन् र बिरामीले औषधी छाडेपछि एकदम समस्या पर्छ । कहिलेकाहीं त ज्यानै पनि जान सक्छ ।

अफिसमा लामो समय एकै ठाउँमा बसेर काम गर्दा ढाड र गर्दन दुख्ने समस्या हुन्छ । एक रिपोर्टअनुसार यसरी कम्प्युटरमा बसेर काम गर्ने १ पुरुषलाई समस्या हुँदा १० जना महिलालाई त्यस्तो समस्या हुन्छ । एउटै ठाउँ बसेर ८–१० घन्टा कम्प्युटरमा काम गर्दा शरीर थाक्छ, जीउ दुख्न सुरु हुन्छ । त्यस्तो बेला उठेर हिँड्नु र सानो–सानो योगासन गर्नुको साटो महिलाहरू दुखाइ कम गर्ने औषधी खान थाल्छन् । कुनै दिन जब असह्य भएर ढाड, गर्दन दुखेर चल्न नै सकिन्न, अनि बल्ल केही समस्या पर्‍यो कि भनेर खोजी हुन्छ ।

लामो समय कम्प्युटरमा काम गरिरहँदा हुने काँध दुखाइको समस्याबाट छुटकारा पाउन र पछि नहोस् भनेर पनि योगासन सिकेर तिनलाई दिनदिनै प्रयोगमा ल्याउनुपर्छ । विदेशमा काम गर्ने सिलसिलामा जाँदा मलाई भनिएको थियो, ‘हरेक एक–दुई घन्टा कम्प्युटरमा काम गरेपछि १० मिनेट उठेर हिँड्नु । नाडीको मसाज गर्नु । हात चलाउनु । नत्र पछि समस्या पर्छ । अफिसमा लामो समय काम गर्ने महिलाहरू ढाड दुखाइको सिकार बन्छन् ।’ यो भनाइलाई मैले मन्त्रजस्तै मनन गरेर एकै ठाउँमा लामो समय बस्नुपर्ने काममा एक–दुई घन्टामा उठेर हिँड्छु । शरीर सोझ्याउँछु ।

संसारले योग दिवस भनेर मनाउनु अघि नै नेपालमा डा. हरिप्रसाद पोखरेल र उमेश श्रेष्ठजस्ता व्यक्तिहरूले योगको महत्त्वबारे जनमानसलाई धेरै जानकारी दिएका थिए र उनीहरूबाट प्रेरणा लिएर हामी थुपै्रले योगलाई जीवनको अंग बनाएका छौं । समस्या के छ भने नेपाल सरकारले डा। पोखरेल र श्रेष्ठको ज्ञान र अनुभव वास्तै गर्दैन । तर भारतबाट रामदेव आउँदाचाहिँ दौडी–दौडी जान्छन् । नजिकमा भएको ज्ञानलाई अवहेलना गरेको सायद घरकी मुर्गी दाल बराबर भएर होला ।

कति साथीहरूचाहिँ बिहान वा बेलुका योगासनचाहिँ गर्छन्, अनि समोसा, जेरी, स्वारी, चाउचाउ, विभिन्न चिसो पेयपदार्थ खाएर मोटोपनको सिकार बन्छन् । ‘खोइ योग गरेर मलाई त केही फाइदा भएन, मोटोपन घटेन, घुँडा र ढाड दुख्न छाडेको छैन’ भन्छन् । उनीहरूले के विचार गर्दैनन् भने योग भनेको केही आसनमात्र होइन, आहार–विहार आदिबारे पनि त्यतिकै विचार गर्नुपर्छ ।

गर्भवती र सुत्केरी महिलाले पनि योगका केही साधारण आसन गर्नुका साथै स्वस्थ खानपिनमा ध्यान दिनुपर्छ । विदेशमा गर्भवती महिलाका लागि विशेष योगासन कक्षा सञ्चालन गरिन्छ । नेपालमा अहिले त्यस्तो कक्षा सञ्चालन गर्ने कार्यक्रम त सुनिएको छैन, तर मेरा केही स्त्रीरोग विशेषज्ञ साथीले गर्भवती महिलालाई खुट्टा, ढाड र हातको योगासन गरे वेश हुन्छ भन्छन् ।

गर्भवती महिलाहरू सुत्केरी भएपछि अन्य कुनै शारीरिक समस्या छैन भने केही साधारण योगासन त एक–दुई सातामा सुरु गर्न सक्छन् । यसले उनीहरूलाई सुत्केरीबाट छिटो तङग्रिन मद्दत गर्छ । सुत्केरी अवस्थामा खानपिनमा ध्यान नदिएर धेरै चिल्लो, बढी मासुभात आदि खाइयो भने त बच्चा ६ महिनाको नहुँदै आमाको शरीरमा मोटोपन धेरै बढ्छ र त्यसपछि गर्दा ढाड र घुँडा दुख्ने समस्या पैदा हुनसक्छ ।

हामीसँग केही मालसामान छ भने हामी बडो जतन गर्छौं । लुगा फोहोर भए धोएर इस्त्री लगाउँछौं, सुतीको लुगामा माड राख्छौं । मोटर, मोटरसाइकल र साइकल पनि जतन गर्छौं । समय–समयमा मोबिल फेर्छौं, हावा छ कि छैन भनेर जाँच गर्छौं, चाडपर्वमा वाहनको पूजा पनि गर्छौं, ताकि दुर्घटना नहोस् । तर ती सबैको आनन्द लिने शरीरलाई वास्ता गर्दैनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here