विराटनगर / विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना भएको छ । सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।
दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै विद्यार्थी १० वर्ष मुनीको रहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जनाए ।
दुर्घटनामा सोही स्कुलको युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएको प्रनि रानाले जनाए ।
घाइतेको विराटनगरस्थित कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर छ। स्थानीय बासिन्दा र प्रहरीले घाइते बालबालिकालाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएका हुन्।
दुर्घटनापछि भ्यानका चालक वीरेन्द्र महतो फरार भएको र उनको खोवी कार्य भइरहेको प्रहरीले जनाएको छ।


















